नेपाल क्यानडासँग ८३ रनले पराजित
काठमाडौं, असार २३ : नेपाल क्यानडासँगको एकदिवसीय खेलमा ८३ रनले पराजित भएको छ।गएराति भएको खेलमा क्यानडाले दिएको एक सय ८९ रनको लक्ष्य पछ्याउने...
काठमाडौं, असार २३ : नेपाल क्यानडासँगको एकदिवसीय खेलमा ८३ रनले पराजित भएको छ।
गएराति भएको खेलमा क्यानडाले दिएको एक सय ८९ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ३९.२ ओभरमा एक सय पाँच रनमै समेटिएको हो।
नेपालका लागि देव खनालले २६, पवन सर्राफले १४, विनोद भण्डारी, बसिर अहमद र आदिल आलम समान १३ रन बनाए। त्यस्तै, कप्तान सन्दीप लामिछाने ११, रोहित पौडेल ६, करण केसीले पाँच र कुशल भुर्तेलले एक रन बनाए।
क्यानडाका अमर खालीद, सलमान नजर, रोमेल साहजाद, साद बिन जफर र हर्ष थाकेरले समान दुई विकेट लिए।
यसअघि ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा नौ विकेट गुमाएर एक सय ८८ रन बनाएको थियो। क्यानडाका लागि श्रेयस मोभाले ५० रन बनाएका थिए।
नेपालका सन्दीप लामिछानेले तीन र दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिएका थिए।
नेपाल दुई खेलको एकदिवसीय श्रृंखलाका लागि क्यानडा पुगेको थियो। वर्षाका कारण पहिलो एकदिवसीय खेल रद्द भएको थियो।
अब नेपाली टोली आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँग खेल्न स्कटल्यान्ड जानेछ।











