प्रधानमन्त्री देउवासँग निर्वाचन आयोगका प्रतिनिधि भेट

काठमाडाैं, असार २२ : प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा प्रतिनिधिमण्डलले आगामी मङ्सिर २ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न प्रस्ताव गरेको छ। प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्मा छलफल गरी सो विषयमा छिट्टै निर्णय लिइने बताइएको जनाइएको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगको सिफारिसमा निर्वाचनको मिति सरकारले तोक्ने व्यवस्था छ। विद्युतीय प्रणालीबाट मतदानको व्यवस्था गर्ने भएमा आवश्यक सामग्री आउँदो साउन मसान्तसम्म आयोगलाई उपलब्ध गराउन आयोगले आग्रह गरेको छ।
विसं २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई आधार मानेर दुवै सभाका सदस्यको समयावधि आगामी मङ्सिर २२ गते सम्पन्न हुने आयोगले जनाएको छ। निर्वाचन स्वतन्त्र, भयरहित, निष्पक्ष, विश्वसनीयका साथै खर्च न्यूनीकरण गर्न दुवै निर्वाचन एकै दिन सम्पन्न गर्ने तयारी आयोगले गरेको छ।











