प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्न १० अर्ब खर्च लाग्ने निर्वाचन आयोगकाे अनुमान
काठमाडौं, असार २२ : निर्वाचन आयोगले यस वर्ष प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न १० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ।बुधबार प्रतिनिधिसभा तथा...
काठमाडौं, असार २२ : निर्वाचन आयोगले यस वर्ष प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न १० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ।
बुधबार प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन मंसिर २ गतेका लागि सरकारलाई सिफारिस गरेको निर्वाचन आयोगले त्यसका लागि करिब १० अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान सरकारलाई पेस गरेको हो।
प्रवक्ता शालिग्रम शर्मा पौडेलका अनुसार यसअघि २०७४ सालको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ७ अर्ब ८० करोड रुपैयाँ खर्च लागेकामा हाल तलब भत्तामा भएको वृद्धि, मतदाता र मतदान केन्द्रको संख्या वृद्धि र निर्वाचन सामग्रीको मूल्यवृद्धिलगायतका कारण बढी खर्च लाग्ने अनुमान छ।
निर्वाचनमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्न सक्ने कानुनी व्यवस्था रहेको सन्दर्भमा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्न सकिने आयोगले बताएको छ ।
आजको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला, नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीलगायतको उपस्थिति थियो।
आयोगबाट प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, निर्वाचन आयुक्तहरु ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर, सगुनशम्शेर जबरा तथा आयोगका सचिव गोकर्णमणि दुवाडीको उपस्थिति थियो।











