राजीनामा घोषणा गर्दै अर्थमन्त्रीले भने- ममाथि पूर्वाग्रह राखियो
काठमाडाैं, असार २२ : अर्थमन्त्री जनार्दन शर्माले विगतमा छानबिन समिति गठन भए पनि राजीनामा दिने नगरिएको पनि आफूले भने त्यसो नगर्ने जानकारी संसद्लाई...
काठमाडाैं, असार २२ : अर्थमन्त्री जनार्दन शर्माले विगतमा छानबिन समिति गठन भए पनि राजीनामा दिने नगरिएको पनि आफूले भने त्यसो नगर्ने जानकारी संसद्लाई गराउँदै राजीनामा दिए।
उनले छानबिन समितिको कामकारबाहीलाई सहज बनाउन पदबाट राजीनामा दिएको बताए। त्यसअघि प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रतिपक्षी दलले आफूप्रति पूर्वाग्रह देखाएको भए पनि सहमतिमा छानबिन समिति गठन भएको बताए।
समितिले छानबिन गरोस् भन्ने आग्रह गर्दै उनले आफूबाट कुनै पनि अनधिकृत काम नभएकोस्पष्ट पारे। तोकिएको मानिसबाहेक बजेट निर्माणका अन्य कोही पनि मानिस संलग्न नभएको उनले दोहोर्याए। उनले भने, 'सैनिक नेतृत्वले जस्तै दोषी करार गरियो। यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठा हो। यो राजनीतिक प्रतिशोध हो।'
उनले आफू विरुद्ध अनेक कथा बुनिएको भन्दै गलत प्रचारको खण्डन गरे। अर्थमन्त्रीले मन्त्रालयमा राखिएको सिसिटिभीको क्षमताका बारेमा थाहा नभएको र आफूले त्यसका बारेमा कुनै चासो नराखेको बताए। विगतमा अनधिकृत रूपमा सुपारी, केराउ र मरिच आयात गरेर तस्करी गर्ने गरिएको जानकारी दिँदै उनले त्यसलाई आफूले रोकिदिएको बताए।
आगामी आवको बजेटमा विलासी विद्युतीय सवारी साधनको हकमा सामान्य मात्रै करको दर हेरफेर गरिएको उनले जानकारी दिए। मन्त्री शर्माले माइतीघर मण्डलमा ‘रातो कर माफ गर’ भन्दै महिलाले गरेको आन्दोलन र उनीहरूले उठाएको माग सम्बोधन गर्न स्यानेटरी प्याडमा कर छुट दिइएको बताए।
निर्यात बढाउने लक्ष्यका साथ आफूले बजेटमा विशेष प्रबन्ध गरेको, कृषि क्षेत्रको विकासमा जोड दिएको तथा समाजमा सबै वर्ग तथा क्षेत्रलाई उत्साहित बनाएको उनले स्पष्ट पारे। अर्थमन्त्रीले विगतमा बच्चाले खाने दूधमा कर बढाएर चकलेट आयातमा कर घटाइएको तथ्यसमेत पेस गरे।
सीमित व्यक्तिलाई लाभ हुने गरी विगतमा करका दरमा हेरफेर गरिएको भन्दै उनले आफूले आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिएकाले विरोध गरिएको त होइन भन्ने प्रश्न गरे।











