अर्थमन्त्री शर्मालाई संसदमा बोल्ने नैतिकता नभएकाे भन्दै एमाले सांसदद्वारा बैठक बहिष्कार
आजको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री शर्मालाई बोल्न समय दिएपछि एमाले सांसदहरूले विरोध जनाउँदै बैठक बहिष्कार गरेका हुन्।
काठमाडाैं, असार २२ : प्रमुख प्रतिपक्षी दल एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई संसदमा बोल्ने कुनै नैतिकता नभएको भन्दै बैठक बहिष्कार गरेकाे छ।
आजको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री शर्मालाई बोल्न समय दिएपछि एमाले सांसदहरूले विरोध जनाउँदै बैठक बहिष्कार गरेका हुन्।
सोही क्रममा एमाले सांसद योगेश भट्टराईले बजेट निर्माणका क्रममा अनधिकृत रूपमा बाहिरका व्यक्ति बोलाई करका दर हेरफेर गराएको र सिसिटिभी फुटेज मेटेकोबारे एमाले अध्यक्ष २० गते अध्यक्ष ओलीले सविस्तार कुरा उठाएको, प्रमुख सचेतकले रुलिङका लागि माग गरेको, सडकमा त्यसविरुद्ध आवाज उठेको, समाचारका हेडलाइन बने पनि मन्त्री शर्माले राजीनामा नदिनु आपत्तिजनक भएको बताए।
नागरिक अगुवाहरुले राजीनामा मागेको, अर्थ मन्त्रालयका पूर्वसचिवहरुले चासो देखाएको, सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरुले समेत विरोध गरिरहेको अवस्थामा राजीनामा नदिनु दुखद भएको बताए।
उनले अर्थमन्त्री शर्मामाथि छानबिन समिति बनाएकोमा सभामुख सापकोटालाई धन्यवाद दिए। ‘नैतिक प्रश्न उठिसकेको मन्त्रीले संसदमा बोल्ने कुनै नैतिक अधिकार छैन,’ उनले भने, ‘संसदीय समितिले दोषी हो कि होइन छान्ने होइन, कति र कस्तो कारबाही गर्ने हो ।’
अर्थमन्त्री कारबाहीको भागीदार भएको उल्लेख गर्दै शर्माले गरिममय संसदमा अर्थमन्त्रीको हैसियतमा बोल्न नपाइने बताए। प्रधानमन्त्रीले अर्थमन्त्रीलाई बर्खास्त गनुपर्नेमा उनले जोड दिए।
सभामुखले बस्न भनिरहँदा पनि भट्टराई बोलिरहे र छानबिन जसमाथि हुनुपर्ने हो तिनले पदमा रहिरहन नमिल्ने भन्दै अर्थमन्त्रीको भाषण सुन्न नसकिने भन्दै एमाले सांसदहरु बाहिरिएका थिए।
राजीनामापिछ पूर्वअर्थमन्त्रीका रुपमा शर्माले बयान दिनुपर्ने एमालेकाे भनाइ छ।











