छोरीले तीन स्वर्ण जितेपछि खुसी आमा
गलेश्वर, असार २२ : मनकुमारी परियार, नामजस्तै मनकारी। राखुमा जन्मिएकी मनकुमारीले मन र जीवन भकिम्लीका टीका उर्फ पूर्णलाई दिइन्। उनले सोचेकी थिइन्, अब मेरो...
गलेश्वर, असार २२ : मनकुमारी परियार, नामजस्तै मनकारी। राखुमा जन्मिएकी मनकुमारीले मन र जीवन भकिम्लीका टीका उर्फ पूर्णलाई दिइन्। उनले सोचेकी थिइन्, अब मेरो जीवन पनि पूर्ण हुने भयो। तर जीवनमा सबै भने जस्तो कहाँ हुन्छ र ?
जब पूर्णसँग मनकुमारी रंगीन सपना पूरा गर्न घर पुगिन्, त्यसपछि छाँगाबाट खसे झैँ भइन्। कारण, पूर्णको घरमा पहिल्यै पत्नी र छोराछोरी थिए। दोधारमा परिन् मनकुमारी। जाऊँ कहाँ जाऊँ ? गुहार मागौँ कसलाई ? त्यसमाथि कोखमा सन्तान जन्मने प्रक्रियामा थियो। मनकुमारीले अठोट गरिन्, जस्तै दुःख सहेर भए पनि अब म यसैका निम्ति बाँच्नुपर्छ।
त्यसपछि सुरु भयो उनकोे संघर्षको कथा। सुरुमा संजोगले बेनी नगरपालिका बजारमा ट्र्याक्टर चढेर फोहोर संकलन गर्ने काम पाइन् मनकुमारीले। आफ्नो कामप्रति उनले घीन मानिन्, अल्छी पनि गरिनन्, सबैलाई मीठो बोली र कामले लोभ्याइन्। एकातिर कोखमा बच्चा अर्कोतिर कामको चटारो, हरेस नखाईकन उनी निरन्तर काममा लागिन्। छोरीको जन्म भयो, नाम राखिन्, सुष्मा परियार।
हो, यिनै सुष्मा परियारले २०७९ असार २० र २१ गते सम्पन्न राष्ट्रपति कपमा तीन स्वर्ण र एक काश्यपदक जितेर सबैलाई चकित तुल्याइन्। उमेरले १३ वर्ष लागेकी बेनीको प्रकाश माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने सुष्माले दौडतर्फ सय मिटर, दुई सय मिटर र चार सय मिटर रिलेमा तीन स्वर्ण र एक हजार ६ सय मिटर रिलेमा काश्यपदक जित्न सफल भइन्। अब सुष्माले पोखरामा हुने प्रदेशस्तरीय राष्ट्रपति कपमा म्याग्दीको प्रतिनिधित्व गर्दै छन्।
सुष्मा त्यसै सफल भएकी होइनन्। उनको सफलतामा आमा मनकुमारीको ठूलो हात छ। एकातिर बुवाको साथको अभाव, अर्कोतिर आफ्नो आर्थिक अवस्था। ‘दशौँ वर्ष गरेको नगरपालिकाको जागिर पनि गयो। अहिले पाण्डे मेडिकल र सञ्जीवनी हस्पिटल साथमा केही घरमा काम गरर दैनिक गुजारा चलाइरहेकी छु। महिनाभरिको कमाइले घरभाडा तिर्न, हातमुख जोर्नै समस्या छ,’ गहभरि आँसु झार्दै मनकुमारीले भनिन्, ‘कति दिन त पैसा नभएर रित्तै हात स्कुल पठाएँ। कैयौँपटक कापी, कलम किन्ने पैसा भएन। यसले कहिल्यै गुनासो गरिन। अचानक अमिसाले फोन गरेर सुष्माले जितिन्भन्दा भुइँमा खुट्टा रहेन। दौडेर मञ्चमा पुगेँ। छोरी र साथीहरुलाई बधाई दिएँ आज यसको सफलताले सबै दुःख बिर्सिएको छु। सर मिसलाई नै अभिभावक सम्झेर प्रकाश माविमा पढाएकी छु। आशा छ, स्कुलले यसलाई पक्कै मान्छे बनाउनेछ।’
प्रकाश माध्यमिक विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख विनय श्रेष्ठले गत वर्ष शारीरिक शिक्षाको अभ्यास गराउँदा सुष्मालाई ख्याल गरेका थिए। ‘राष्ट्रपति कप हुने भन्दाबित्तिकै उनको तस्बिर झलझली आँखा अगाडि नाच्यो। नभन्दै साथी माझ अब्बल साबित भएर छनोट भइहालिन्,’ श्रेष्ठले भनिन्, ‘सुष्माको प्रदर्शनले हामी खुसी छाँै, उनले विद्यालयको नाम राखेकी छन्।’
विद्यालयका निमित्त प्रधानाध्यापक लेखबहादुर हमाल सुष्मालाई विद्यालयले गर्नुपर्ने सहयोगमा कमी हुन नदिने बताउँछन्।
अहिलेको सफलताबाट आफू खुसी भएको सुष्मा बताउँछिन्। ‘सर–मिस, विद्यालय र साथीले साथ दिनुभयो, धन्यवाद छ। विद्यालयको नाम राखेँ, अब जिल्लाको नाम राख्न सकूँ,’ सुष्मा भन्छिन्, ‘यही सपना बोकेर पोखरा जानेछु। आमाको सपना पूरा गर्नेछु। मेरा पदक आमाबुवालाई समर्पण छ।’
अहिले सिंगो समाज सुष्माको अभिभावक बनेको छ। सुष्मालाई असल मानिस बनाउन र बुवाको कमी महसुस हुन नदिन वास्तवमै सहयोगी हातको खाँचो भएको विद्यालयका शिक्षक विनय श्रेष्ठले बताउँछन्।
म्याग्दीबाट ९३ खेलाडी छनोट
म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न सातौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिताबाट गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कपका लागि म्याग्दीबाट विभिन्न विधामा गरी ९३ खेलाडी छनोट भएका छन्।
मंगलबार सम्पन्न भएको प्रतियोगितामा पुरुष तथा महिला भलिबल, कबड्डी मार्सलआर्ट विधाका खेलाडी छनोट गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए। ‘जिल्लाबाट विभिन्न विधामा गरी ९३ जना खेलाडी छनोट भएका छन्, प्रदेशस्तरीय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने प्रयास गर्छौं,’ अध्यक्ष केसीले भने।
अध्यक्ष केसीका अनुसार जिल्लाभर समग्रमा बेनी नगरपालिका प्रथम भएको छ। स्थानीय तहबाट सहभागी विद्यालयस्तरको स्वर्णसहितको पदक आज (बुधबार) वितरण गरिएको छ। असार २३ र २४ गते प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराउने खेलाडी छनोट गर्न जिल्लास्तरीय प्रतियोगिताको आयोजना गरिएको थियो। छनोट भएका खेलाडीहरु प्रदेशस्तरीय प्रतियोगिताका लागि आजै पोखरा जाँदै छन्। (ध्रुवसागर शर्मा/रासस)











