Kathmandu Press

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति बनाउने सहमति

काठमाडौं, असार २२ : अर्थमन्त्री जनार्दन शर्माबारे छानबिनका लागि संसदीय समिति बनाउने सहमति भएको छ।सभामुख अग्निप्रसाद सापकोटाको पहलमा भएको छलफलमा दलहरूबीच संसदीय समिति...
अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति बनाउने सहमति

काठमाडौं, असार २२ : अर्थमन्त्री जनार्दन शर्माबारे छानबिनका लागि संसदीय समिति बनाउने सहमति भएको छ।

सभामुख अग्निप्रसाद सापकोटाको पहलमा भएको छलफलमा दलहरूबीच संसदीय समिति गठन गर्ने सहमति भएकाे हो।सर्वदलीय ‍बैठक एमालेकाे पनि उपस्थिति थियाे। एमालेले संसदीय समिति गठन गर्नुअघि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने अडान राखेको थियो।

अर्थमन्त्री शर्मामाथि आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेको आरोप लागेको छ। सो घटनाबारे सिसिटिभी फुटेज मेटिएको बताइएपछि अर्थमन्त्री शर्माकाे चर्को आलोचना हुँदै आएको छ।

यस विषयलाई लिएर मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल पनि भएको थियो।

स्रोतका अनुसार अर्थमन्त्री शर्माले आज संसदमा आफ्नो धारणा राखेर राजीनामा दिन चाहेका थिए तर एमालेले उनलाई बोल्न नदिने बताएपछि संसद बैठक नै प्रभावित भएको छ।

६ सदस्यीय संसदीय छानबिन समिति गठन हुने सहमति भए पनि दलीय प्रतिनिधित्वबारे टुंगो लागिनसकेको जनाइएकाे छ।

बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सर्वदलीय ‍बैठकले गर्दा दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो। तर अझै बैठक सुरू हुन सकेकाे छैन।

बैठक सुरु हुने संसदमा सभामुखले संसदीय समिति गठनको घोषणा गर्न सक्ने संसद सचिवालय स्रोतको भनाइ छ।

प्रकाशित मिति: १४:५८ बजे, बुधबार, असार २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्