एमालेले भन्याे- अर्थमन्त्री शर्मालाई संसदमा बोल्न दिँदैनाैं
काठमाडौं, असार २२ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई संसदमा बोल्न नदिने जनाएको छ। एमालेका प्रखुम सचेतक विशाल भट्टराईले बजेट निर्माणमा...
काठमाडौं, असार २२ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई संसदमा बोल्न नदिने जनाएको छ।
एमालेका प्रखुम सचेतक विशाल भट्टराईले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई सहभागी गराएर करका दररेटमा हेरफेर गर्ने अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने बताएका हुन्।
अर्थमन्त्री शर्माले आज (बुधबार) को प्रतिनिधिसभा बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिनेबारे सूचना पाएलगत्तै एमालेले त्यस्तो तयारी गरेको हो। एमालेको माग अर्थमन्त्रीको जवाफ नभएर संसदीय छानबनि समिति निर्माण भएको भट्टराईले बताएक छन्।
बिहान ११ बजेलाई बोलाइएको संसद बैठक अझैं सुरु भएको छैन। अर्थमन्त्री शर्माले प्रतिनिधिसभा बैठकमा आफ्ना भनाइ राखेर राजीनामा दिन लागेकाले बैठक बस्न विलम्ब भइरहेको विश्वस्त स्रोतको भनाइ छ।
अर्थ मन्त्रालय स्रोतका अनुसार आज बस्ने प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरेर अर्थमन्त्री शर्माले राजीनामा दिन लागेका छन्।
अर्थमन्त्री शर्मामाथि बजेट निर्माणका क्रममा करको दर हेरफेरका लागि अनधिकृत व्यक्ति प्रयोग गरिएको आरोप लागेको छ।
यसलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसदमा अर्थमन्त्रीको राजीनामा माग गर्दै आइरहेको छ।
मन्त्री शर्मा र अर्थ मन्त्रालयले भने कर विज्ञहरुकै सल्लाहमा करको दर हेरफेर गरिएको र मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश नभएको स्पष्टीकरण दिइसकेको छ।
बजेट सार्वजनिक हुनुभन्दा अघिल्लो दिनको सिसीटिभी फुटेजसमेत मेटिएको सूचना सार्वजनिक भएपछि अर्थमन्त्री मात्र नभएर अर्थ मन्त्रालयमाथि व्यापक आलोचना भइरहेको छ।
यस विषयमा प्रतिपक्षी दल मात्र नभएर सत्तारुढ दलकै सांसदहरु तथा पूर्वप्रधानन्यायाधीशसहितका नागरिक अगुवाहरुले समेत मन्त्री शर्माले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग राख्दै आएका छन्।











