अर्थमन्त्रीको राजीनामा माग गर्दै बानेश्वरमा युवासंघको प्रदर्शन
प्रदर्शनमा युवासंघले ‘अर्थमन्त्री राजीनामा दे’, ‘अर्थमन्त्रीलाई बर्खास्त गर’ लगायतका नारा लगाएका छन्।
काठमाडौं, असार २१ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृसंगठन युवासंघले अर्थमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ।
मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा युवा संघका कार्यकर्ताहरुले पोस्टर र पम्प्लेटसहित नाराबाजी गरेका हुन्। उनीहरुले ‘अर्थमन्त्री राजीनामा दे’, ‘अर्थमन्त्रीलाई बर्खास्त गर’ लगायतका नारा लगाएका छन्।
बजेट निर्माण गर्दा करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रयोग गरिएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको संसददेखि सडकसम्म विरोध चुलिएको छ। केही दिन अघि मन्त्रालयले सिसिटिभी फुटेज समेत मेटिएको भन्ने सूचना दिएपछि अर्थमन्त्रीमाथि थप प्रश्न उठेको छ।

संसददेखि सडकसम्म अर्थमन्त्रीको विरोध भएपनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो विषयमा प्रधानमन्त्री शेर बहादुर देउवासँग छलफल गर्ने तयारी गरेका छन् ।
संसदमा पनि नेकपा एमालेले लगातार अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने बताउँदै आएको छ।











