Kathmandu Press

गण्डकीमा बजेट माथिको छलफल जारी

कास्की, असार २१ :  गण्डकी प्रदेशसभामा बजेट माथिको छलफल जारी छ ।  प्रदेशसभाको आजको बैठकमा सदस्यहरूले बजेटका सम्बन्धमा आ–आफ्ना धारणा राखेका छन्। बैठकमा प्रदेशसभा सदस्य...
गण्डकीमा बजेट माथिको छलफल जारी

कास्की, असार २१ :  गण्डकी प्रदेशसभामा बजेट माथिको छलफल जारी छ ।  प्रदेशसभाको आजको बैठकमा सदस्यहरूले बजेटका सम्बन्धमा आ–आफ्ना धारणा राखेका छन्। 

बैठकमा प्रदेशसभा सदस्य रामशरण बस्नेतले बजेटमा एउटा र रातो किताबमा अर्कै  आउने जस्ता प्रवृत्ति देखिएको बताउनुभयो । जनताका आवश्यकतातर्फ बजेट केन्द्रित नभएको उनले बताए। यस बजेटबाट जनताका इच्छा र चाहना पूरा नहुने उनले बताए।      
    
बाढीका कारण जनजीवन अस्तव्यस्त भएको अवस्थामा सरकारले बेवास्ता गरेको आरोप लगाए। सरकारमा जवाफदेहिता नदेखिएको उनले बताए। 

मनकुमारी गुरुङले आफ्नो साधनस्रोतलाई ख्याल गर्नुपर्ने अवस्थामा हैसियत अनुसार बजेट आएको बताउँदै धेरै विषयलाई बजेटले समेटेको बताए। सरकारले जनतालाई अत्यावश्यक कतिपय नयाँ कार्यक्रम ल्याएको उनले बताए। कतिपय कार्यक्रम नीति तथा कार्यक्रममा परे पनि बजेटमा नसमेटिएको बताउँदै उनले रातो किताबमा ती विषय समेटिएर आउने विश्वास व्यक्त गरे।

लेखबहादुर थापाले बजेट जनमुखी रहेको बताए। करको दायरा फराकिलो बनाउनुपर्नेमा उनले जोड दिए । धनमाया पोखरेल लामाले सङ्घीयताको मर्म र भावनाअनुसार प्रदेशमा देखिने विवाद तथा समस्या यहाँ नै समाधान गर्नुपर्नेमा जोड दिए। उनले जनताका पक्षमा सबै एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याए। 

सावित्रा रानाले सरकारले ल्याएको बजेट परिणाम दिने खालको हुनुपर्नेमा वितरणमुखी आएको बताउनुभयो । योजना छनोट विधि नै गलत अवलम्बन गरिएको उनले बताए। यो बजेटले समृद्धिको यात्रा तय गर्न नसक्ने उनको भनाइ छ।

भागवत प्रकाश मल्लले जनताका आवश्यकता र अपेक्षालाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । मोहनप्रसाद रेग्मीले बजेट गन्तव्यमा पुग्ने किसिमको नभएको बताए। सत्तापक्ष आफैँभित्र लुछाचुँडीमा लागेको बताउँदै उनले जनताका अपेक्षालाई ध्यान नदिइएको बताए। आजको छलफलमा इन्द्रलाल सापकोटा, विनोद केसीलगायत सदस्यहरूले भाग लिएका थिए।  

प्रकाशित मिति: १५:०७ बजे, मंगलबार, असार २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्