अमेरिकामा नेपाली खेलाडी र पत्रकार सम्मानित

काठमाडाैं, असार २० : नेपाली फुटबलर नवयुग श्रेष्ठ र भरत खवाससँगै दुई नेपाली खेलकुद पत्रकारलाई अमेरिकामा सम्मान गरिएको छ।
फुटबलर श्रेष्ठ, खवास तथा खेलकुद पत्रकार रोशनबहादुर सिंह र फोटो पत्रकार कौशल अधिकारी सम्मानित भएका हुन्।
अमेरिकाको बाल्टिमोरमा भएको एनएसी फुटबल प्रतियोगिताको फाइनल खेलपछि चारै जनालाई बाल्टिमोर काउन्टीअन्तर्गट डिस्ट्रिक्ट आठले सम्मान गरेको हो।
चारै जनालाई डिस्ट्रिक्ट आठका डेलिगेट्स ह्यारी भण्डारीले सम्मान गरे। सिंहलाई नेपाली खेलकुदमा पत्रकारिताको माध्यमबाट गरेको महत्वपुर्ण योगदानका कारण र अधिकारीलाई फोटो पत्रकारितामा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो।
चारै जनालाई नेपाली खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै सम्मानित गरेको ह्यारी भण्डारीले जानकारी दिए।
यसअघि रोशन, कौशल, भरत र नवयुगलाई बाल्टिमोरको १० नम्बर डिस्ट्रिक्टका डेलिगेट जे जेलेसीले पनि सम्मान गरेका थिए। एनएसी कप फुटबलका लागि भरत र नवयुगले अमेरिकाको एल ए गुँरासबाट खेलेका थिए।











