मन्त्रिपरिषद् पुनर्गठन : जसपाका तीन मन्त्री हेरफेर
राष्ट्रपति भण्डारीले आज (सोमबार) संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा केही मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी हुन्।
काठमाडौं, असार २० : प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद पुनर्गठन गरेकी छन्।
राष्ट्रपति भण्डारीले आज (सोमबार) संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा केही मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी हुन्।
राष्ट्रपतिको कार्यालयले दिएको जानकारीअनुसार ४ बजे नयाँ मन्त्रीको शपथको समय तय भएको छ। जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाएपछि मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो।
जसमा मृगेन्द्रकुमार सिंह यादवलाई कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी दिइएको छ भने मोहम्मद इस्तियाक राईलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै प्रदीप यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।
कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री रामसहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ।
यसअघि नेकपा एकीकृत समाजवादीले मन्त्रीमण्डल हेरफेर गरेको थियाे। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वकाे सरकारकाे याे छैटाैंपटक मन्त्रीमण्ल पुनर्गठन हाे।













