नेकपा एसको सचिवालय बैठक जारी, वाग्मतीका मुख्यमन्त्री परिवर्तन प्रमुख एजेन्डा
काठमाडौं, असार २० : सत्तारुढ पाँच दलीय गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादी (नेकपा एस) को सचिवालय बैठक जारी छ।कान्तिपथस्थित होटल यल्लो प्यागोडामा...
काठमाडौं, असार २० : सत्तारुढ पाँच दलीय गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादी (नेकपा एस) को सचिवालय बैठक जारी छ।
कान्तिपथस्थित होटल यल्लो प्यागोडामा बसिरहेको बैठकमा वाग्मती प्रदेश सरकारको मुख्यमन्त्री परिवर्तनबारे छलफल भइरहेको जनाइएको छ। हाल नेकपा एसका तर्फबाट राजेन्द्र पाण्डे वाग्मतीका मुख्यमन्त्री छन्।
पछिल्लो समय वाग्मतीको मुख्यमन्त्री परिवर्तनको विषयमा असाध्यै पेचिलो बनेको छ। सत्तारुढ गठबन्धन दलकै मुख्य घटक नेपाली कांग्रेस र अर्को दल नेकपा माओवादी केन्द्रले पाण्डेले मुख्यमन्त्री पद छाड्नुपर्ने भन्दै दबाब सिर्जना गरिरहेका छन्।
ती दलका सांसदले पहलाकै लिखित सहमतिअनसार पण्डेले पद छाड्नुपर्ने भन्दै हस्ताक्षरसमेत संकलन गरिसकेको अवस्था छ।
सहमति पालना नभए पाण्डेविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर हटाउने तयारीमा कांग्रेस र माओवादी लागिरहेका बेला बसेको नेकपा एसको सचिवालय बैठकलाईै महत्वका साथ हेरिएको छ।
नेकपा एसको हालै बसेको संसदीय दलको बैठकले केन्द्रीय गठबन्धनले निर्णय गरेको छ। वाग्मतीको मुख्यमन्त्रीबाट पाण्डेले हट्नुपर्ने अवस्था आए अर्को प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने निष्कर्ष पनि नेकपा एसले निकालेको छ।
मुख्यमन्त्री पाण्डेले आफ्नो पद जोगाउन एमालेसँग पनि संवाद अगाडि बढाएको गाइँगुइँ चलेको छ। वाग्मतीको मुख्यमन्त्री गुमेको खण्डमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री आफूले पाउनुपर्ने माग नेकपा एसले राखेको चर्चा पनि राजनीतिक वृत्तमा चलिरहेको छ। सुदूरपश्चिममा हाल त्रिलोचन भट्ट मुख्यमन्त्री छन्। उनी माओवादी केन्द्रका हुन्।











