Kathmandu Press

सिंहदरबार वैद्यखानामा चार महिनापछि औषधि उत्पादन

काठमाडौं, असार २०: चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ।  धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो...
सिंहदरबार वैद्यखानामा चार महिनापछि औषधि उत्पादन

काठमाडौं, असार २०: चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ।  

धेरै रोगमा प्रयोग गर्न सकिने हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला चूर्ण समितिको बिक्री कक्षमा सकिएको सात महिना पूरा भएको थियो। गुणस्तरीय आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्न स्थापना भएको विकास समितिमा चार महिनादेखि अन्य सबै औषधि उत्पादन रोकिएको थियो।

काम नभएपछि करीब ५० कर्मचारी दैनिक कार्यालय आई हाजिर गरेर फर्कने गरेकाका थिए। शुक्रबारदेखि फेरि उत्पादन शुरु भएको वैद्यखानाले जनाएको छ।

निमित्त कार्यकारी निर्देशक परिवर्तन भएपछि उत्पादन शुरु भएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत सोमबार कार्यालय प्रमुखका रुपमा निमित्त कार्यकारी निर्देशकमा डा. श्यामबाबु यादवलाई पठाएको थियो। उनको अग्रसरतामा शुक्रबारदेखि उत्पादन शुरु गरिएको छ।

औषधि उत्पादन गर्ने समितिमा कामै नभएका बेला पूर्वनिमित्त कार्यकारी निर्देशक डा. सबरी साहले भने ज्यालादारी कर्मचारी राखेको भन्दै स्थायी कर्मचारीले विरोध गर्दै आएका थिए। डा. साहले भने उत्पादन शुरु भएपछि धेरै कर्मचारी आवश्यक पर्ने जनाउँदै काम नभएको बेलामा पनि तलब खुवाएर राखेको दाबी गरेका थिए।

उत्पादन नभएपछि समितिको बिक्री कक्षमा अहिले च्यवनप्रासबाहेकका उत्पादन पाइँदैन। शुक्रबारदेखि उत्पादन शुरु भएको त्रिफला केही दिनदेखि समितिको बिक्री कक्ष एवं बजारमा समेत पठाइने जनाइएको छ। षडबिन्दु तेललगायत अन्य उत्पादन पनि केही दिनमै शुरु हुने भएको छ।

उत्पादन र बिक्री नभएपछि चार महिनादेखि समितिका कर्मचारीले तलब पनि पाएका थिएनन्। निमित्त कार्यकारी निर्देशक यादवले हाजिर भएको एक हप्तामा कर्मचारीलाई चार महिनाको तलब बैंक खातामा पठाएको बताए।

व्यवस्थापनले समस्या समाधानका लागि काम नगरेको भन्दै कर्मचारीले दैनिक एक घण्टा निमित्त कार्यकारी निर्देशकको कार्यकक्षमा धर्ना दिँदै आएका थिए।

प्रकाशित मिति: ०७:५३ बजे, सोमबार, असार २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्