निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्न एमालेले पौडेलको नेतृत्वमा बनायो छानबिन समिति
नेकपा एमालेकाे सचिवालय बैठकले पार्टीभित्रकै अराजक तत्वका कारण स्थानीय निर्वाचनमा अपेक्षाकृत नतिजा नआएको निष्कर्ष निकालेको छ।
काठमाडौं, असार १९ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह निर्वाचनमा अन्तर्घात, अनुशासनहिनता र अराजकतामाथि छानविन गर्न समिति गठन गरेको छ।
आइतबार बसेको एमाले सचिवालय बैठकले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्य छानविन समिति गठन गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्।
बैठकले पार्टीभित्रकै अराजक तत्वका कारण स्थानीय निर्वाचनमा अपेक्षाकृत नतिजा नआएको निष्कर्ष निकालेको छ। त्यसबारे छानविन गर्न निर्वाचन विभाग प्रमुख समेत रहने गरी पौडेलको नेतृत्वमा समिति गठन गरिएको हो। उक्त समितिले निश्चित समयभित्र प्रतिवेदन पेश गर्न भनिएको छ। अनुशासनहीनता र अराजकताविरुद्ध कारवाही गर्ने अधिकार पनि समितिलाई दिइएको गुरुङले बताए।
बैठकले स्थानीय तह निर्वाचनको समिक्षा गर्दै सबै जिल्ला र प्रदेशहरुलाई असार मसान्तभित्र रिपोर्ट तयार गरि केन्द्रमा पठाउन निर्देशन दिएको छ। स्थानीय तहको समीक्षा गरी आगामी संघ र प्रदेशको निर्वाचनमा पार्टीलाई बलियो बनाउने गरी अभियान सञ्चालन गर्ने भएको छ।
त्यसका लागि सातै प्रदेशमा सातजना उपाध्यक्षहरुले कार्यकर्तालाई प्रशिक्षण दिने गुरुङले बताए। प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, मधेश प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, बाग्मतीमा विष्णु पौडेल, गण्डकीमा अष्टलक्ष्मी शाक्य, लुुम्बिनीमा सुवासचन्द्र नेम्वाङ, कर्णालीमा रामबहादुर थापा र सुदूरपश्चिममा युवराज ज्ञवालीलाई जिम्मेवारी दिइएको छ।
संघ र प्रदेशको निर्वाचनमा आफ्नो मतको सुरक्षा गर्दै मत बढाउनका लागि प्रचारप्रसारलाई तीव्रता दिने निर्णय भएको छ। एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामको प्रचार र वर्तमान गठबन्धन सरकारले गरेका जनविरोधी कामहरुको भन्डाफोर गर्ने निर्णय गरिएको गुरुङले जानकारी दिए।
बैठकले विभिन्न विभागहरुमा सचिव मनोनयन गर्दै केही नयाँ विभागहरु समेत विस्तार गरेको छ। वित्त तथा कोष व्यवस्थापन विभागको सचिवमा डा भीष्म अधिकारी, संगठन विभागको सचिवमा सम्झना देवकोटा, उपभोक्ता हित संरक्षण विभागमा मोहनी खनाल, श्रम तथा रोजगार विभागमा जनक चौधरी लगायत रहेका छन्।
बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, वन तथा वातावरण विभाग, वित्त तथा कोष व्यवस्थापन विभाग, कृष्ति तथा पशुपंक्षी विभाग र निर्वाचन विभाग गठन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए।











