प्रचण्डको प्रतिवेदन : निर्वाचनमा तेस्राे भएपनि एजेन्डाको आधारमा माओवादी नै पहिलो पार्टी (पूर्णपाठ)
काठमाडौंमा आइतबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा प्रचण्डले पेस गरेको प्रतिवेदनमा आजको परिवर्तनको मुख्य बाहक शक्ति माओवादी केन्द्र नै रहेका कारण एजेन्डाका आधारमा माअोवादी पहिलो पार्टी रहेको उल्लेख छ।
काठमाडौं, असार १९ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनबाट माओवादी केन्द्र तेस्रो पार्टी बनेपनि एजेन्डाको आधारमा पहिलो पार्टी रहेको दाबी गरेका छन्।
काठमाडौंमा आइतबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा प्रचण्डले पेस गरेको प्रतिवेदनमा आजको परिवर्तनको मुख्य बाहक शक्ति माओवादी केन्द्र नै रहेका कारण एजेन्डाका आधारमा माअोवादी पहिलो पार्टी रहेको उल्लेख छ।
‘संघीयता, गणतन्त्र, समानुपातिक समावेशिता, सामाजिक न्याय, धर्मनिरपेक्षता र लोकतन्त्रसहितको नयाँ नेपालको परिकल्पनाकार र नेतृत्वकर्ता हाम्रो पार्टी हो,’ प्रतिवेदनमा उल्लेख गरिएको छ।
टुटफुट र ससाना समूह निर्माणको श्रृंखलाले क्रान्तिकारी आन्दोलन कमजोरजस्तो देखिएको पनि प्रचण्डले उल्लेख गरेका छन् । माअोवादी केन्द्र शहरी क्षेत्रको तुलनामा ग्रामीण भेगमा मजबुत रहेको उनको दाबी छ।
स्थानीय तह निर्वाचनको परिणाम अनुसार नेपाली काँग्रेस ग्रामीण क्षेत्रमा कमजोर र शहरी क्षेत्रमा मजबुत देखिएको तथा एमाले दुबै क्षेत्रमा उस्तै देखिएको प्रतिवेदनमा उल्लेख छ।
प्रचण्डले गठबन्धनमा नेपाली कांग्रेस स्वार्थी र एकीकृत समाजवादीले आफ्नो स्थितिभन्दा बढी भाग खोज्दा अपेक्षाकृत परिणाम नआएको उल्लेख छ। गठबन्धनमा माअोवादी केन्द्र भने पूर्ण इमानदार देखिएको उल्लेख छ ।
पार्टीले आफू बलियो हुनभन्दा गठबन्धनको भर परेका कारण पनि अपेक्षाअनुसारको परिणाम नआएको प्रचण्डले प्रष्ट्याएका छन् । अघिल्लो निर्वाचनमा पहिलो शक्ति बनेको एमाले गठबन्धनकै कारण दोस्रो स्थानमा झरेको र कांग्रेस दोस्रो स्थानबाट पहिलो स्थानमा उक्लिएको प्रचण्डले बताएका छन् ।आगामी संघीय निर्वाचनमा गठबन्धनलाई भन्दा आफ्नो पार्टीलाई मजबुत बनाउनतर्फ लाग्नुपर्ने पनि प्रचण्डले बताएका छन्।











