नेपालमा भेटियाे ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति बीए–५
काठमाडौं, असार १९ : नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ओमिक्रोन बीए–५ भेटिएको छ।धुलिखेल अस्पतालले गरेको जिन सिक्वेन्सिङ परीक्षणमा सो संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग...
काठमाडौं, असार १९ : नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ओमिक्रोन बीए–५ भेटिएको छ।
धुलिखेल अस्पतालले गरेको जिन सिक्वेन्सिङ परीक्षणमा सो संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ। संक्रमित व्यक्तिको ‘हिस्ट्री’ खुल्न बाँकी रहेको जनाइएको छ।
ओमिक्रोन भेरियन्टका दुई नयाँ उपप्रजाति बिए–४ फोर र बिए–५ का कारण पछिल्लो समय केही देशमा कोरोना भाइरस संक्रमणको दर बढिरहेको छ।
दक्षिण अफ्रिकामा उत्पत्ति भएको यी दुई उपप्रजातिहरूले युरोप, अमेरिका, जर्मनीलगायत देशमा बढी संक्रमण फैलाइरहेको छ। भारतमा पछिल्लो समय संक्रमण ओमिक्रोनकै उपप्रजाति बीए–४ र बिए–५ ले बढाएको पुष्टि भइसकेको छ।
नेपालमा पनि बिए-५ कै कारण संक्रमण गराइरहेको हो भने कोभिड–१९ फेरि समुदायस्तरमा बढ्न सक्ने आकलन जनस्वास्थ्यविद्हरूले बताएका छन्।
यसअघि कोरोना भाइरसका अल्फा र डेल्टाजस्ता प्रजातिले ठुलो संख्यामा मानिसलाई संक्रमण गराएका थिए।
बिए-५ ओमिक्रोनका अन्य उपप्रजातिहरूमध्ये झन्डै चार गुणा संक्रामक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।











