Kathmandu Press

लोमान्थाङमा गल्फका लागि सम्भाव्यता अध्ययन

लोमान्थाङमा गल्फका लागि सम्भाव्यता अध्ययन

काठमाडाैं, असार १९ : चीन सीमामा रहेको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा गल्फ खेलका  लागि सम्भाव्यता अध्ययन गरिएको छ। गाउँपालिकाले समुद्री सतहदेखि चार हजार ६४५ मिटर उचाइमा रहेको सो स्थानमा प्रतियोगिता सञ्चालन गर्न अध्ययन गरेको हो। 

गण्डकी प्रदेशसभा सदस्य ईन्द्रधारा विष्टको अगुवाइमा गल्फ खेलाडी, प्राविधिक र जनप्रतिनिधिसहितको टोलीले परीक्षणस्वरुप गल्फ खेलेका थिए।

लोवथाङमा गल्फ प्रतियोगिता सञ्चालनबारे तयारी भइरहेको विष्टले बताए। उपल्लो मुस्ताङको पर्यटन प्रवद्र्धन तथा पर्वतीय खेलकुदको विकास गर्न प्रतियोगिता सञ्चालनका लागि आर्थिक वर्ष २०७९/८० मा रु १० लाख विनियोजन गरेको छ। 

गत वर्ष लोवथाङमा प्राविधिक टोली पुगेर अवलोकन गरेको थियो। गल्फ खेलका लागि उपयुक्त स्थान पहिचान गरेपछि प्रतियोगिता सञ्चालनको योजना बनाएको प्रदेशसभा सदस्य विष्टले बताए। लोमान्थाङ बजारदेखि पश्चिम डोल्पा जाने बाटोमा उक्त स्थान पर्छ।

त्यहाँसम्म पुग्न सडकसमेत विस्तार भइसकेको छ। करिब तीन किलोमिटर फराकिलो समथर खुला क्षेत्रमा घाँसे मैदान रहेको छ। उक्त मैदान गल्फ खेल्न उपयुक्त भएको खेलाडी र प्राविधिकले बताएका छन्। 

गल्फ खेल्न विभिन्न संरचना निर्माण गर्न थालिएको छ। उक्त मैदानसम्म पुग्न लोमान्थाङबाट १२ किलोमिटर सडक यात्रा गर्नुपर्छ।

प्रकाशित मिति: १४:४५ बजे, आइतबार, असार १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्