केएमसी स्कुलको होस्टलमा कार्यरत रमा मृत भेटिइन्, हत्या भएको आफन्तको आशंका
काठमाडौं, असार १९ : काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको होस्टेलमा कार्यरत एक कर्मचारी मृत फेला परेकी छन् । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका...
काठमाडौं, असार १९ : काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको होस्टेलमा कार्यरत एक कर्मचारी मृत फेला परेकी छन् । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार स्कुलको गर्ल्स होस्टेलमा कार्यरत २१ वर्षीया रमा रायमाझी शनिबार राति हाेस्टलमै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।
रायमाझी मृत फेला परेपछि उनका आफन्तहरुले स्कुल परिसर पुगेर प्रदर्शन गरेका छन् । उनीहरुले रमाको हत्या भएको आशंका गर्दै घटनाबारे सत्यतथ्य नखुलेसम्म शव उठाउन नदिने बताएका छन् ।
गएराती नै रमा झुण्डिएको खबर प्रहरीले पाएको थियो । घटनास्थल पुगेको प्रहरीले रातारात होस्टलका विद्यार्थीलाई परिवारको जिम्मा लगाएको र स्कुलका सवारी साधनलाई स्कुल परिसरबाट हटाएको तर मृत फेला परेकी रमाका आफन्तलाई खबर नगरेको बताइएको छ।
काभ्रेको तेमाल गाउँपालिका घर भएकी रमा डेढ वर्षदेखि केएमसीको होस्टलमा काम गर्दै आएकी थिइन् । केएमसीबाट २०० मिटर पर डेरा रहेपन राति अबेरसम्म नआउँदा आफन्तजनले खोजविन गरेका थिए । ‘बुझ्न जाँदा झुण्डिएको थाहा पार्यौं,’ रमाकी मामाले भने । उनले प्रहरी प्रशासन घटनाबारे छानविन गर्नभन्दा स्कुलको सुरक्षा गर्न लागेको बताएका छन्।
शव गएराती नै फेला परेको भएपनि प्रहरीले अनुसन्धान सुरु गर्न सकेको छै्रन । गए राति शव फेला परेपछि त्रिवि शिक्षण अस्पतालबाट फोरेन्सिक डाक्टर गोपाल चौधरी समेतको टोली खटिएको थियो।उनले शव हेरेर गए पनि थप अनुसन्धान अघि बढ्न नसकेपछि फर्किएका थिए।
घटनाको अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीले परिवारसँग छलफल गर्ने प्रयास गरिरहेको मैनालीले बताए।











