सुदूरपश्चिममा बजेटको पक्षमा उभिन माओवादीको निर्देशन
धनगढी, असार १९: सुदूरपश्चिम प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) संसदीय दलले सरकारले ल्याएको बजेट कार्यक्रमका पक्षमा उभिन पार्टीका प्रदेशसभा सदस्यलाई निर्देशन दिएको छ।संसदीय दलका...
धनगढी, असार १९: सुदूरपश्चिम प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) संसदीय दलले सरकारले ल्याएको बजेट कार्यक्रमका पक्षमा उभिन पार्टीका प्रदेशसभा सदस्यलाई निर्देशन दिएको छ।
संसदीय दलका नेता एवं प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संसदीय दलको बैठकमा बजेट कार्यक्रममा देखिएको कमीकमजोरीलाई कानूनअनुसार सच्याउन मिल्ने भए सच्याउने प्रतिबद्धता व्यक्त गर्दै बजेटको पक्षमा उभिन निर्देशन दिएको प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्टले बताए।
'बजेट कार्यक्रममा जहाँ त्रुटि छ, त्यसलाई सच्याउनु प¥यो भन्ने विषयमा दलको बैठकमा प्रदेशसभाका सदस्यहरुबीच छलफल भयो,' भट्टले भने, 'मुख्यमन्त्रीले कानूनअनुसार सच्याउन मिल्ने विषयलाई सच्याउन सकिने अश्वासन दिनुभयो।'
बजेट कार्यक्रममा क्रमागत योजना हटाइएको, योजनाको बाँडफाँट असमान ढङ्गले भएको लगायतका सांसदले गुनासो गरेका छन्।
सामाजिक विकासमन्त्रीलाई समेत जानकारी नदिई उक्त मन्त्रालय शीर्षकमा एउटै नगर क्षेत्रका मठमन्दिरका नाममा ठूलो बजेट रकम विनियोजन गरिएको उनीहरुको भनाइ थियो।
सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र प्रतिपक्ष नेकपा (एमाले) लगायतका दलको समेत बजेट कार्यक्रमप्रति असन्तुष्टि छ।
प्रदेश सरकारले यही असार १ गते ल्याएको आर्थिक वर्ष २०७९र८० को बजेट कार्यक्रममाथि प्रतिपक्ष र सत्तापक्षकै सदस्यको असहमतिपछि प्रदेशसभामा अझै छलफल सुरु हुन सकेको छैन।
असन्तुष्टिका बारेमा सरकारसँग बसेर छलफल नगरेसम्म र बजेट कार्यक्रमलाई परिस्कृत नगरिएसम्म यथास्थितिमै प्रदेशसभामा छलफल अघि बढ्न नसकिने सदस्यहरुको भनाइ छ। सदस्यहरुको असन्तुष्टिकै कारण बजेटमाथिको छलफलका लागि पटक पटक बोलाइएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ।











