वामदेव गौतम पार्टी घोषणाको सातौं दिनमा निष्कासित
शनिबार सतुंगलस्थित एक पार्टी प्यालेसमा बसेको चार पार्टीको शीर्ष नेताको बैठकले गौतमलाई बहुमतबाट निष्कासन गरेको हो।
काठमाडौं, असार १८ : नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानमा आवद्ध चार दलले संयोजक वामदेव गौतमलाई पार्टीबाट निष्कासन गरेको छ। शनिबार सतुंगलस्थित एक पार्टी प्यालेसमा बसेको चार पार्टीको शीर्ष नेताको बैठकले गौतमलाई बहुमतबाट निष्कासन गरेको हो।
अभियानमा आवद्ध रहेका समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताहरुले गौतममाथि ५ बुँदे आरोप लगाएको छ।
उनीहरुले गौतमलाई लगाएको आरोप यस्तो छ
१.सांगठनिक अराजकता, निरङकुश, तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरिएको ।
२.अहंकारवादी सोच र एकलौटी निर्णय गरिएको ।
३. जालझेल, छलछाम, षड्यन्त्र र तिकडमबाजी कार्यशैली अपनाइएको ।
४. नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध दलहरुको आडमा शक्ति बनाई सो शक्तिको चरम दुरुपयोग गरी उल्लेखित शक्तिहरुलाई सिध्याउने गतिविधि गरिएको ।
५. सम्पुर्ण बामपंथी तथा समाजवादी शक्तिलाई बृहत कम्युनिष्ट एकतामा जोड्ने योजना बमोजिम नेकपा एकता राष्ट्रिय अभियान गठन गरिएकोमा संयोजक कमरेड बामदेव गौतमले सो निर्धारित उद्धेश्य विपरीत अभियानलाई सत्ता, शक्ति, पद प्राप्तिको लागि बार्गेनिङको माध्यम बनाएको ।
त्यस्तै बैठकले गौतमलाई निष्कासन गरी सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन गरेको छ।
जसको सदस्यमा कृष्णगोपाल वञ्जरा, मीननाथ देवकोटा, नीलकण्ठ पौडेल, द्वारिका निरौला मानव, गुणबहादुर वञ्जरा, भरत कुमाल, भगवती ढकाल, सरस्वती न्यौपाने, तेजबहादुर कार्की र रोशन लामिछाने रहेका छन्।






