Kathmandu Press

तत्कालीन राज्यमन्त्री वली र वाइसीएल कार्यकर्ता बस्नेतबीचको विवादकाे कारण आर्थिक लेनदेन : प्रतिवेदन

बुटवल, असार १८ : लुम्बिनी प्रदेशकी तत्कालीन स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले वाइसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा गरेको विवादबारे छानबिन गर्न बनेको...
तत्कालीन राज्यमन्त्री वली र वाइसीएल कार्यकर्ता बस्नेतबीचको विवादकाे कारण आर्थिक लेनदेन : प्रतिवेदन

बुटवल, असार १८ : लुम्बिनी प्रदेशकी तत्कालीन स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले वाइसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा गरेको विवादबारे छानबिन गर्न बनेको समितिले लेनदेन कारणले घटना घटेको निष्कर्ष निकालेको छ।

समितिका संयोजक आन्तरिक मामिलामन्त्री तिलक राम शर्मा र सदस्य महिला तथा बालबालिका मन्त्री रमा घर्तीले मुख्यमन्त्री कुलप्रसाद केसीलाई आज (शनिबार) बुझाएको प्रतिवेदनमा एउटै राजनीतिक दलका दुई व्यक्ति विभिन्न कार्यक्रम सहकार्य गर्दा सापटी रकम दिएर फिर्ता नहुँदा घटना भएको देखिएको उल्लेख छ।

प्रतिवेदनमा राज्यमन्त्रीजस्तो व्यक्तिले सर्वसाधारणको घरमा श्रीमती र छोरीसँग झगडा गर्नु र रकम असुली गर्न घरमै जानुभन्दा अन्य विकल्प नखोज्नु कमजोरी भएको उल्लेख छ। ६ लाख २० हजार रुपैयाँ लेनदेन भएको र विमलाले दायित्व बिर्सेर बस्नेतसँग झगडा गर्ने काम गरेको उल्लेख गर्दै कडा रूपमा सचेत बनाउनु पर्ने राय प्रतिवेदनमा दिइएको छ । 

बस्नेत पक्षले पनि योजनाबद्ध रूपमा स्थानीयहरू बोलाउने र मिडियालाई पहिल्यै खबर गरेर बसेको जस्तो देखिएकाले थप छानबिनको आवश्यकता पनि प्रतिवेदनमा औंल्याइएको छ। एकराजले वलीलाई फोनमा कुरा हुँदा घरै छु भनेको तर घरमा पुग्दा नभेटिएपछि वली आवेगमा आएको प्रतिवेदनमा उल्लेख छ।

तत्कालीन राज्यमन्त्री वलीमाथि जेठ ३१ गते बिहान आफ्नो सुरक्षा गार्डसहित तुलसीपुरमा उपमहानगरपालिका–५ स्थित एकराज बस्नेतको घरमा पुगेर बस्नेतकी पत्नी मीना र छोरीमाथि कुटपिट गरेको  आरोप लागेको थियो। सो घटनालाई लिएर प्रहरीमा जाहेरी पनि परेको थियो। उक्त घटनापछि वलीले राजीनामा गरेकी छन् भने मुख्यमन्त्री केसीले उनको राजीनामा स्वीकृत गरिसकेका छन्। 

समितिले बुझाएको प्रतिवेदन अध्ययन गरेर सरकार अगाडि बढ्ने मुख्यमन्त्री केसीले बताएका छन्।

प्रकाशित मिति: १८:११ बजे, शनिबार, असार १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्