Kathmandu Press

वाग्मती प्रदेश सरकारको नेतृत्व छाड्नुपरे अर्को प्रदेशमा पाउनुपर्ने नेकपा एसकाे निष्कर्ष

पार्टी केन्द्रीय कार्यालय  काठमाडौंमा आज (शनिबार) अध्यक्ष माधवकुमार नेपालसमेतकाे उपस्थितिमा बसेको वाग्मती प्रदेश संसदीय दलको बैठकले त्यस्तो निष्कर्ष निकालेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।
वाग्मती प्रदेश सरकारको नेतृत्व छाड्नुपरे अर्को प्रदेशमा पाउनुपर्ने नेकपा एसकाे निष्कर्ष

काठमाडौं, असार १८ : नेकपा एकीकृत समाजवादी (नेकपा एस)  ले वाग्मती प्रदेश सरकारको नेतृत्व छाड्नुपरेकाे अवस्थामा अर्को प्रदेशमा पाउनुपर्ने निष्कर्ष निकालेको छ।

पार्टी केन्द्रीय कार्यालय  काठमाडौंमा आज (शनिबार) अध्यक्ष माधवकुमार नेपालसमेतकाे उपस्थितिमा बसेको वाग्मती प्रदेश संसदीय दलको बैठकले त्यस्तो निष्कर्ष निकालेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

नेता–कार्यकर्ताको व्यवस्थापनका लागि कम्तीमा दुई प्रदेशको नेतृत्व नेकपा एसको भागमा परेको हुँदा वाग्मती छाड्नुपर्ने अवस्थामा अर्को प्रदेशमा सरकारको नेतृत्व पाउनुपर्ने उनको भनाइ थियो। 

‘अहिले दुई ठाउँमा हाम्रा मुख्यमन्त्रीहरू हुनुहुन्छ, प्रदेश १ र वाग्मती। वाग्मती छाड्दा अरू ठाउँमा पाउनुपर्ने होला,’ बैठकपछि प्रवक्ता खतिवडाले भने, ‘कांग्रेसको पनि दुई ठाउँमा छ, उसले पनि चेन्ज गरेर दुई ठाउँमा लिने इस्यु मिलाऔं भन्ने छ।’

केन्द्रीय गठबन्धनमा छलफल गरेर सातै प्रदेशबारे साझा धारणा बनाउनुपर्ने कुरा बैठकमा आएको उनले बताए। बैठकले केन्द्रीय गठबन्धनको निर्णयबिना मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा नदिने निर्णय भएकाे बताइएकाे छ।

बैठकमा प्रादेशिक समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको उनले जानकारी दिए। बैठकमा थियो। बैठकले प्रदेश सरकारको बजेट कार्यान्वयन र आगामी चुनौतीबारे छलफल गरेको बताइएको छ। आगामी प्रदेशसभा निर्वाचन तयारीबारे पनि छलफल भएको जनाइएको छ । 

कांग्रेस र एकीकृत समाजवादीका संसदीय दलका नेताले आधाआधा कार्यकाल मुख्यमन्त्री बन्ने लिखित सहमति भए पनि मुख्यमन्त्री पाण्डेले पद नछाडेको भन्दै माओवादी र कांग्रेसका सांसदहरुले उनलाई दबाब दिन हस्ताक्षर संकलन गरिसकेका छन्। 

मुख्यमन्त्री पाण्डेले भने केन्द्रको निर्णय जे हुन्छ आफू त्यही गर्ने बताउँदै आएका छन्। उनले छाडेपछि मुख्यमन्त्री बन्ने तयारीमा रहेका वाग्मती प्रदेश कांग्रेस संसदीय दलका नेता एवं कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्र बानियाँले प्रदेश सरकार परिवर्तनले केन्द्रीय गठबन्धनलाई कुनै असर नपर्ने बताएका छन्। 

गत वर्ष मुख्यमन्त्री हुँदा पाण्डेलाई वाग्मती प्रदेशमा रहेका १०९ मध्ये ५९ सांसदको समर्थन गरेका थिए। जसमा माओवादीका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाका एक सांसद छन्।

प्रकाशित मिति: १६:११ बजे, शनिबार, असार १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्