प्रधानसेनापतिद्वारा संयुक्त राष्ट्रसंघ मुख्यालयको भ्रमण

काठमाडौं, असार १८ : संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गरेका छन्।
शर्माले मुख्यालयस्थित राष्ट्रसङ्घका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट तथा छलफल गरी दुई पक्षीय आपसी हित र पारस्परिक सम्बन्ध एवं युएन मिसनका विविध पक्षका बारेमा छलफल गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
उनले त्यहाँको सैन्य मामला कार्यालयका सैन्य सल्लाहकार बिरामे दिओप, शान्ति स्थापना कार्यसञ्चालन विभागका उपमहासचिव जाँ पिये लाक्रोइ, कार्य सञ्चालन सहायता विभागका उपमहासचिव अतुल खारे र राजनीतिक तथा शान्ति निर्माण मामिलाका उपमहासचिव रोजÞमेरी डिकार्लोसँग भेटवार्ता गरेका थिए।
प्रधानसेनापति शर्मा यही असार ४ देखि ८ गतेसम्म लेवनान तथा असार ९ र १० गते सिरियास्थित शान्ति मिसन क्षेत्रको भ्रमण सम्पन्न गरी असार १३ देखि संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा छन्।
प्रधानसेनापति शर्मा भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको बताइएको छ।











