सिन्धुपाल्चोकमा भारी वर्षा, मेलम्चीमा बाढीको चेतावनी
काठमाडौं, असार १८: सिन्धुपाल्चोकमा भारी वर्षा भएकाले मेलम्चीमा नदीमा बाढी आउनसक्ने जनाउँदै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।शनिबार बिहानै महाशाखाले सूचना जारी...
काठमाडौं, असार १८: सिन्धुपाल्चोकमा भारी वर्षा भएकाले मेलम्चीमा नदीमा बाढी आउनसक्ने जनाउँदै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार बिहानै महाशाखाले सूचना जारी गरी मेलम्चीको मुहान क्षेत्रमा भारी वर्षा भएको जनाएको छ। गुम्थाङ, धाप, नकोटेलगायत धेरै ठाउँमा भारी वर्षा मापन गरिएको छ।
जसले गर्दा मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह शुक्रबार बेलुकाभन्दा १.५ मिटरले बढेको महाशाखाले जनाएको छ। त्यहाँ बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
त्यस्तै महाशाखाले मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी आउन सक्ने प्रक्षेपण गरेको छ। यससँगै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ।
यसैगरी पूर्वका झापा, इलाम, भोजपुरसहित केही जिल्लामा पनि ठूलो पानी परेको जनाइएको छ। केही ठाउँमा ठूलो पानी परेको भए पनि देशका मुख्य नदीमा आउँदो तीन दिनसम्म जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान गरिएको छ।











