पाँचथरमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता
पाँचथर, असार १८: अविरल वर्षासँगै गएको पहिरोले घर बगाउँदा पाँचथरमा तीन जना बेपत्ता भएका छन्।पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा...
पाँचथर, असार १८: अविरल वर्षासँगै गएको पहिरोले घर बगाउँदा पाँचथरमा तीन जना बेपत्ता भएका छन्।
पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र भतिजी १९ वर्षीया एलिसा छन्।
रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोले घर बगाउँदा उछिट्टिएर घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
गएराति पहिरो झरेर ढुङ्गा, माटोले बनेको रुपलालको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। प्रहरी चौकी सिदिनको टोली घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको थियो।
उद्धारका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए। तर, बिहानसम्म बेपत्ता फेला नपरेको थापाले बताए।











