Kathmandu Press

राष्ट्रिय सभाबाट बजेट आश्रित तीन विधेयक पारित

काठमाडौं, असार १७ : राष्ट्रिय सभाबाट बजेट आश्रित तीनवटा विधेयक पारित भएको छ।राष्ट्रिय सभाको आज (शुक्रबार) बसेको बैठकले बजेटसँग जोडिएर आएका आर्थिक विधेयक २०७९,...
राष्ट्रिय सभाबाट बजेट आश्रित तीन विधेयक पारित

काठमाडौं, असार १७ : राष्ट्रिय सभाबाट बजेट आश्रित तीनवटा विधेयक पारित भएको छ।

राष्ट्रिय सभाको आज (शुक्रबार) बसेको बैठकले बजेटसँग जोडिएर आएका आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक २०७९ र ऋण तथा जमानत (२५औं संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो।

प्रतिनिधिसभाले यी तीनवटै विधेयक पारित गरेर असार ६ गते राष्ट्रिय सभामा पठाएको थियो। राष्ट्रिय सभाले पारित गरेर सन्देशसहित तीनवटै विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएपछि त्यहाँबाट पुनः पारित गरिन्छ।

विनियोजन विधेयक र बजेट आश्रित तीन गरी चारैवटा विधेयकलाई प्रतिनिधिसभाबाट पारित भएसँगै संघीय संसदबाट आगामी आर्थिक वर्षको बजेट पूर्ण रुपमा पारित हुनेछ। 

यसका लागि प्रतिनिधिसभाको बैठक असार २० गते बस्दैछ। प्रतिनिधिसभाबाट पारित चारवटै विधेयक सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ। राष्ट्रपतिबाट बजेट र बजेट आश्रित विधेयकहरु प्रमाणीकरण भएपछि मात्रै बजेट खर्च गर्ने बाटो खुल्छ।

असारभित्रै यी सबै काम हुने भएपछि आगामी साउन १ बाट नयाँ आर्थिक वर्ष सुरु हुन्छ र बजेट खर्च गर्ने प्रक्रिया थालिन्छ। 

प्रकाशित मिति: १२:३१ बजे, शुक्रबार, असार १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्