नाबालिग यौन दुर्व्यवहारकाे आरोपमा पाेखराका फेन्सी स्टोर्सका सञ्चालक पक्राउ

काठमाडाैं, असार १६ : पोखराको चिप्लेढुंगास्थित शिला फेन्सी स्टोर्सका सञ्चालकलाई प्रहरीले पक्राउ गरेकाे छ। १५ वर्षीया नाबालिगलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले छविलाल गौतमलाई पक्राउ गरेकाे हाे।
आफ्नै फेन्सी स्टोर्समा जागिर लगाइदिने भन्दै नाबालिगलाई बुधबार बिहान बोलाएर यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
पीडित परिवारले दिएको जाहेरीका आधारमा गाैतमलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको कास्की प्रहरीले जनाएकाे छ।
शिला फेन्सी स्टोर्समा जागिर खुलेको थाहा पाएपछि बालिका त्यहाँ पुगेकी थिइन्। गौतमले बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म काम गर्नुपर्ने भन्दै असार १५ गतेदेखि हाजिर हुन भनेपिछ बालिका बुधबार बिहान ८ बजे नै उक्त फेन्सी स्टोर्स पुगेकी थिइन्।
बिहान साढे ८ बजेतिर स्टोर्सका सञ्चालक गौतमले काम सिकाउने भन्दै पीडित नाबालिगलाई माथिल्लो तलामा लगेर संवेदनशील अंगमा हात लगेर यौन दुर्व्यवहार गरेको पीडित परिवारले जनाएका छन्।
नाबालिगले प्रहरीमा जाहेरी दिएको २ घन्टाभित्रै गौतम पक्राउ परेका थिए।











