Kathmandu Press

जब सम्पदा क्षेत्रमा युवाले ‘स्टन्ट’ देखाए, तब बहस सुरु भो– सम्पदा क्षेत्रमा के गर्ने, के नगर्ने ? 

केही समय अघिसम्म दरबार क्षेत्रमा फिल्म–भिडियो सुट र कन्सर्ट हुने गरेका थिए । तर, हाल यस क्षेत्रमा धुम्रपान निषेधसँगै भिडियो सुटमा समेत कडाइ गरिएको छ।
जब सम्पदा क्षेत्रमा युवाले ‘स्टन्ट’ देखाए, तब बहस सुरु भो– सम्पदा क्षेत्रमा के गर्ने, के नगर्ने ? 

काठमाडौं, असार १६ : अशिष नेपालीको फेसबुक अकाउन्टबाट बुधबार (हिजो) एउटा भिडियो सार्वजनिक भयो। करिब आठ मिनेट लामो उक्त भिडियोमा दुई युवाले पाटन दरबार क्षेत्रमा ‘स्टन्ट’ प्रदर्शन गरिरहेका छन्। यो देखेपछि मंगलबजार टोल सुधार समितिका पूर्व–अध्यक्ष समेत रहेका स्थानीय बिगेन्द्रलाल श्रेष्ठले ती युवालाई त्यसो नगर्न भन्छन्। सम्पदा क्षेत्रमा त्यस्ता क्रियाकलाप गर्न नपाइने उनको भनाइ छ। 

स्टन्ट गरिरहेका युवाले एक अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सम्पदा क्षेत्र देखिने गरी भिडियो खिचेको बताएका छन्। स्टन्ट गर्ने क्रममा एक युवकले विश्वनाथ मन्दिरअघिको हात्तीको मूर्तिमाथि टेकी तल फाल हालेका छन्। यी युवाको समर्थनमा वरपरका अन्य युवाको जमात पनि थपिन्छ। युवा जमात र वृद्धबीच केही समय वादविवाद हुन्छ। केही समयपछि, ललितपुर महानगरपालिकाका दुई नगर प्रहरी आउँछन् र युवाहरुलाई सम्पदा क्षेत्रमा त्यस्ता गतिविधि नगर्न सम्झाइबुझाइ गर्छन्। 

यो भिडियो १४ असारमा खिचिएको रहेछ। १५ असारमा सार्वजनिक भएसँगै यस सम्बन्धमा विभिन्न प्रतिक्रिया आएका छन्। वृद्धमाथि ती युवाले अभद्र व्यवहार गरेको र मूर्तिमा टेकेर उफ्रेको भनी अधिकांश आक्रोशित छन्। 

ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाथेछुका अनुसार, हाल दरबार क्षेत्र परिसरमा यस किसिमका कुनै पनि क्रियाकलाप गर्न मिल्दैन। ‘केही समय अघिसम्म यहाँ फिल्म–भिडियो सुट, कन्सर्ट हुने गरेका थिए,’ उनी भन्छन्, ‘तर, हाल यस क्षेत्रमा धुम्रपान निषेधसँगै भिडियो सुटमा समेत कडाइ गरिएको छ।’

अबका लागि अनुमति लिएर राष्ट्रिय तथा मौलिक पहिचान झल्कने भिडियो मात्र खिच्न मिल्ने हाथेछुले बताए। ‘फोटो खिच्न, बसेर कुराकानी गर्न मिले पनि सम्पदालाई क्षति पुग्ने गरी कुनै पनि क्रियाकलाप गर्न मिल्दैन,’ उनले भने। 
इतिहासकार त्रिरत्न मानन्धर सम्पदा क्षेत्र सबैको साझा भए पनि यस प्रकारका गतिविधि गर्न सम्बन्धित निकायसँग अनुमति लिनुपर्ने बताउँछन्।

‘युवाविरुद्ध उजुरी गरिने’ 

मंगल टोल सुधार संघका अध्यक्ष किरणमान प्रधानका अनुसार, आज (बिहीबार) कार्य समितिको मिटिङ बसेर नगरपालिका तथा प्रहरीमा घटनामा संलग्न ती युवाविरुद्ध उजुरी गर्ने निर्णय भएको छ।

‘होला, उहाँहरूको उद्देश्य राम्रो थियो तर दरबार क्षेत्रजस्तो संवेदनशील क्षेत्रमा यस्ता क्रियाकलापका लागि पहिले स्वीकृति लिनुपर्छ,’ अध्यक्ष प्रधान भन्छन्, ‘दरबार हेरचाह अड्डा, संग्रहालय परिसर, महानगरपालिका तथा टोल सुधार संघ सबैसँग समन्वय गर्नुपर्ने हुन्छ। अनुमतिपछि आवश्यकता अनुसार जिल्ला प्रशासन कार्यालयबाट सुरक्षाको समेत व्यवस्था गरिने गरेको छ।’ 

वृद्धमाथि भएको अभद्र व्यवहार र स्मारकमा टेकेर गरिएको स्टन्ट शोभनीय नभएको उनी बताउँछन्। 
 
राज्यस्तरबाटै जनचेतना आवश्यक

सम्पदा अभियन्ता यादवलाल कायस्थ घटनामा संलग्न युवाहरुलाई सम्पदा क्षेत्रको महत्व बुझाउनुपर्ने बताउँछन्। आज (बिहीबार) घटनामा संलग्न युवालाई लिएर कायस्थसहित केही सम्पदा अभियन्ता प्रहरी प्रभाग मंगलबजार पुगेका छन्। 

‘हाम्रो उद्देश्य उहाँहरूलाई कारबाहीको दायरामा ल्याउनुभन्दा पनि सम्पदा क्षेत्रमा गर्न हुने वा नहुने विषय बुझाउने हो। सायद, उहाँहरूलाई पनि थाहा थिएन,’ उनले टेलिफोनमार्फत भने।  

प्राचीन स्मारक तथा कलाकृति रहेको सम्पदा क्षेत्रमा यस्ता क्रियाकलाप गर्न नमिल्ने कुरा ती युवालाई बुझाएर सहमतिमा छाड्ने प्रक्रिया चलिरहेको अभियन्ता कायस्थ बताउँछन्। 

‘सम्पदा क्षेत्र संवेदनशील हुन्छ। हामी अभियन्ताले यस्ता क्षेत्रमा सरसफाइका लागि सम्बन्धित निकायलाई सचेत गराइरहेका छौँ,’ उनी भन्छन्, ‘सम्पदा क्षेत्रको सरसफाइमा फलामको ब्रसको प्रयोगले मूर्ति तथा स्मारकलाई क्षति पुग्छ। फलामको सट्टा प्लास्टिक वा नरम ब्रसले सफा गर्नुपर्ने माग हामीले गरिरहेका छाैँ। यस्तो संवेदनशील सम्पदा क्षेत्रमा स्टन्ट, भिडियो सुटिङजस्ता क्रियाकलाप हुँदा प्राचीन स्मारक मात्र नभई त्रुटिवश व्यक्ति विशेष पनि घटनामा पर्न सक्छन्।’ 

नेपालको संविधानले राज्यका निर्देशक सिद्धान्तहरू अन्तर्गत सम्पदाको संरक्षण र विकासमा जोड दिएको छ। त्यस्तै, प्राचीन स्मारक संरक्षण ऐन, २०१३ मा सम्पदा क्षेत्रमा के गर्न हुन्छ र हुन्न भन्ने उल्लेख छ। संविधान र कानुनको अक्षरसः पालना नहुँदा र पालना गराउनुपर्ने सम्बन्धित निकायले आफ्नो जिम्मेवारी पूरा नगर्दा यस्ता घटना घट्ने कायस्थ बताउँछन्। 

‘पाटन दरबार क्षेत्रमै पनि नगर प्रहरी, संग्रहालयदेखि पुरातत्व विभागको हेरचाह अड्डा छ। यो उहाँहरूको दायित्व हो,’ उनी भन्छन्, ‘उहाँहरूले आफ्नो दायित्व पालना नगर्दा यस्तो समस्या आएको हो।’

यस सम्बन्धमा जनचेतनामूलक कार्यक्रम ल्याइनुपर्ने वा सम्बन्धित क्षेत्रमै सूचना टाँसिनुपर्ने पनि उनी बताउँछन्। 
 

प्रकाशित मिति: १७:१६ बजे, बिहीबार, असार १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्