जसपाबाट सहमतिमै अलग हुँदै डा. भट्टराई
संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले बुधबार साँझ जसपा अध्यक्ष उपेन्द्र यादवलाई सिंहदबारमा बोलाएर अलग हुने प्रस्ताव राखेको र त्यसमा अध्यक्ष यादवले पनि सहमति जनाएको बताइएको छ।
काठमाडौं, असार १६ : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई समझदारीमै पार्टीबाट अलग हुने भएका छन्।
डा. भट्टराईले बुधबार साँझ जसपा अध्यक्ष उपेन्द्र यादवलाई सिंहदबारमा बोलाएर अलग हुने प्रस्ताव राखेको र त्यसमा अध्यक्ष यादवले पनि सहमति जनाएको बताइएको छ। अब निकट भविष्यमै नयाँ दल दर्ता गर्नेगरी डा. भट्टराई जुटिरहेको स्रोतको भनाइ छ।
स्रोतका अनुसार छलफलका क्रममा अध्यक्ष यादवले डा. भट्टराइलाई आफूले कसैलाई जानू भन्ने तर अलग्गिने इच्छा भए नरोक्ने बताएका हुन्। समझदारीमै अलग हुने भएपछि केन्द्रीय सदस्य र सांसदहरुलाई कता जाने भनेर उनीहरुलाई स्वयंलालाई रोज्न दिने निष्कर्ष पनि निकालिएको अध्यक्ष यादवनिकट स्रोतले जानकारी दिएकाे छ।
पार्टीमा यादव पक्षको बहुमत रहेकाले जसपाको आधिकारिकता डा. भट्टराईको पक्षमा नजाने विश्लेषण पनि गरिएको छ। सुरुमा बहुमत भएको दाबी गरे पनि आफूहरुको बहुमत पुग्ने सम्भावना कम रहेको बुझेपछि डा. भट्टराईनयाँ पार्टी खोल्ने अभ्यासतर्फ केन्द्रित भएको आकलन गरिएको छ। तथापि जुन पक्षको बहुमत पुग्छ, सोही पक्षले पार्टीको नाम र चुनाव चिह्रन पाउने कानुनी व्यवस्था छ।
डा. भट्टराईनिकट स्रोतले छिट्टै केन्द्रीय सदस्यहरुको भेला गर्न नेताहरुबीच छलफल भइरहेको जानकारी दिएको छ। डा. भट्टराईले नयाँ दल दर्ता बनाउनतिर लागिरहँदा कोको केन्द्रीय सदस्य तथा सांसद उनीतिर जालान् र कोको संस्थापन पक्षमै रहलान् भन्ने आम चासोको विषय बनेको छ।











