प्रधानमन्त्रीलाई नेम्वाङको आग्रह : एसपीपीबारे कसले के–के पठायो संसदमा प्रस्तुत गरिदिनुस्
'रक्षा मन्त्रालय, सेना लगायत सबै डाडु पन्यू सरकारसँग छ। त्यो सबै चिठिहरु संसदमाा प्रस्तुत गरिदिनुस् न,’ उनले भने, ‘प्रधानमन्त्री ज्यू, जो जो त्यसमा संलग्न छन् देखिन्छ’
काठमाडौं, असार १६ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले अमेरिकासँगको स्टेटपार्टनरसिप प्रोग्राम (एसपीपी) बारे नेपालबाट पठाइएका सबै पत्र संसदमा प्रस्तुत गरिदिन आग्रह गरेका छन्।
बिहीबार ६६ औं संसद दिवसमा आयोजित कार्यक्रममा बोल्दै नेम्वाङले सत्ताको डाडुपन्यू सबै प्रधानमन्त्री देउवासँग भएका कारण एसपीपीबारे भएका सबै कुराहरु संसदमा प्रस्तुत गरेर छर्लङ्ग पार्न सकिने बताए।
‘एसपीपी कसले गर्यो भनेर किन नखोजिएको ? यो सम्पूर्ण चिठिहरु सरकारसँग छ । रक्षा मन्त्रालय, सेना लगायत सबै डाडु पन्यू सरकारसँग छ। त्यो सबै चिठिहरु संसदमाा प्रस्तुत गरिदिनुस् न,’ उनले भने, ‘प्रधानमन्त्री ज्यू, जो जो त्यसमा संलग्न छन् देखिन्छ।’
नेम्वाङले सरकारले त्यस्तो गर्न सकेको अवस्थामा संसद पनि बलियो हुने बताए । उनले संसदमा उठेका विषयहरु त्यत्तिकै छाड्दा संसद अझै कमजोर हुने बताए । महाभियोग प्रकरण, अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको कुरा लगायत धेरै विषयहरु संसदमा उठेका तर विना निष्कर्ष नै छाडिएको बताउँदै नेम्वाङले यसबाट संसद कमजोर हुने बताए।
उनले अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा निष्कर्श निकाल्न धेरै केही गर्नु नपर्ने बताए । प्रमुख प्रतिपक्षी दलका एक नेतालाई राख्नुस्, अर्थमन्त्रीलाई संगै राखेर प्रधानमन्त्री र सभामुखले २४ घन्टाको सिसिटिभी फुटेज हेरिदिनुस्, त्यति गरे पुगिहाल्छ,’ उनले भने।
नेम्वाङले लामो समयदेखि प्रतिनिधि सभामा उपसभामुख र राष्ट्रिय सभामा उपाध्यक्ष पद रिक्त रहेकोमा कुनैपनि राजनीतिक दलले त्यसप्रति चासो नदेखाएको बताए । प्रमुख प्रतिपक्षी दल देखि सत्तारुढ दलहरुले पनि यसप्रति गम्भीर चासो दिनुपर्ने उनले बताए।











