Kathmandu Press

नीतिगत भ्रष्टाचारका कारण किसानले मल नपाउने अवस्था बन्याे : पाैडेल

काठमाडौं, असार १६ : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मुलुकमा नीतिगत भ्रष्टाचार मौलाएका कारण  किसानले मल पाउन नसकेको बताएका छन् ।६४औं संसद दिवसका...
नीतिगत भ्रष्टाचारका कारण किसानले मल नपाउने अवस्था बन्याे : पाैडेल

काठमाडौं, असार १६ : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मुलुकमा नीतिगत भ्रष्टाचार मौलाएका कारण  किसानले मल पाउन नसकेको बताएका छन् ।

६४औं संसद दिवसका अवसरमा पूर्वसांसद मञ्चद्वारा बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेती गर्ने बेला मलकाे हाहाकार भएको र कृषि सामग्री केन्द्रलाई कम्पनी लिमिटेडमा लगेपछि नेपालमा कहिल्यै किसानले समयमा मल नपाएको बताए।

‘खेती गर्ने बेला छ, मलको हाहाकार छ,’ उनले भने, ‘यो सबै नीतिगत भ्रष्टाचारले भएको हो।’ आफू कृषिमन्त्री हुँदा कृषि सामग्री केन्द्र बनाएको, त्यसमा कहिल्यै चलखेल हुन नदिएको र किसानले मलको अभाव पनि बेहोर्नुनपरेको उनले दाबी गरे।

महँगी बढे पनि मल अभाव हुँदा जनताले मार खेप्नुपरिरहेको विषयलाई लिएर उनले असन्तुष्टि प्रकट गरे। कांग्रेस, एमाले, माओवादी सबैले समाजवादको नारा धन्काउने तर काम नगर्ने प्रवृत्तिले गर्दा जनताले सास्ती भोग्नुपरिरहेको उनको भनाइ थियो। समाजवादी भनिएकाहरु कसैले पनि जनताको हितमा काम गर्न नसकेको उनले बताए।

मुलुकलाई रानीतिक स्थिरता, सुशासन, सामाजिक न्याय विकास चाहिएको, गरिबी घटाउन आवश्यक रहेको उल्लेख गर्दै उनले नीतिगत भ्रष्टाचार मौलाएका कारण नेपाल अघि बढ्न नसकेको तर्क गरे। नीतिगत भ्रष्टाचारकै कारण नेपालको सम्भावना र क्षमताको उपयोगसमेत हुन नसकेको उनकाे भनाइ थियाे।

नेता पौडेलले नेपाल आयल निगम पनि व्यापारीलाई दिन खोजेको भन्दै त्यसमा सबै सचेत हुनुपर्नेमा जोड दिए। ‘म पनि सुन्दै छु, आयल निगमलाई व्यापारीको हातमा सुम्पन खोजिँदैछ रे। त्यसका लागि चलखेल भइरहेको छरे, म तपाईहरुलाइृ भन्न चाहन्छु यहाँ करोडको कुरा छैन, अरबका कुरा छ, अरब कमाएपछि त्यो नेतालाई कसले छुन सक्छ?’

७० वर्ष लगाएर ल्याएको संविधानमा उग्र वामपन्थीदेखि लिएर उग्र दक्षिणपन्थीसम्मले हस्ताक्षर गरेको उल्लेख गर्दै उनले सो संविधानबाट आएको व्यवस्था आफैंले राम्रोसँग सञ्चालन गर्न नसक्ने अनि त्यही व्यवस्थालाई दोष दिनु गलत रहेको उनको भनाइ थियो।    

जनताको आवाज मुखिरत गर्ने  संस्था संसद निरंकुश शासन चलाउन चाहनेहरुका लागि आँखाको कसिंगर बन्दै आइरहेको हुँदा बेलाबेलामा पुरै र बेलाबेलामा आंशिक रुपमा भंग गरिँदै आएको उनले बताए। संसदको प्रभावकारित कसरी बढाउने भन्ने सन्दर्भमा पूर्वसांसद मञ्चले  महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको उनले बताए।

प्रकाशित मिति: १४:०९ बजे, बिहीबार, असार १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्