संसद अवरोध भइरहँदा गैरसंसदीय प्रवृत्तिहरू मौलाउँदै गएको छ : खनाल
काठमाडाैं, असार १६ : नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले संसदमा अवरोध भइरहँदा गैरसंसदीय प्रवृत्तिहरू मौलाउँदै गएको बताएका छन्।६४औं संसद दिवसका अवसरमा पूर्वसांसद...
काठमाडाैं, असार १६ : नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले संसदमा अवरोध भइरहँदा गैरसंसदीय प्रवृत्तिहरू मौलाउँदै गएको बताएका छन्।
६४औं संसद दिवसका अवसरमा पूर्वसांसद मञ्चद्वारा राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदलाई ठिक ढंगले नचलाउँदा, दलहरुले सही भूमिका निर्वाह नगर्दा, पार्टी नेतृत्वले ठिक ढंगले भूमिका नखेल्दा, सरकार पनि सही भूमिकामा नहुँदा गैरसंसदीय प्रवृत्तिहरू देखापर्ने बताए।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको र अहिलेको संसदमा नेकपा एमालेले बारम्बार अवरोध गरिरहेकोप्रति लक्षित गदै खनालले भने, ‘कहिलेकाही हाम्रा नेताहरूलाई झोंक चलछ, रिस उठ्छ, सनक चढ्छ, त्यसपछि संसद नै बन्द गरिदिन्छ अनि कहाँबाट राष्ट्रको आवाज उठ्छ ? जनताको आवाज उठाउनु छ, जनताबाट निर्वाचित भएर आइएको छ, संसद चल्नै नदिएपछि गैरसंसदीय प्रवृत्तिहरू मौलाउँछन्, दलीय प्रवृत्तिहरूमाथि झपड सुरु हुन्छ’ उनले भने, ‘अहिले भर्खरै भएको निर्वाचनमा दलीयतालाई भन्दा निर्दलीयतालाई प्रोत्साहन दिन खोजियो कि खोजिएन?’
संसद भनेको जनताबाट निर्वाचित व्यक्तिहरूको संस्था भएको उल्लेख गर्दै उनले विभिन्न देशमा संसदका अनेकौं रूपहरु विकसित भइरहेको बताए। संसदलाई नेपालमा राष्ट्रिसभा र प्रतिनिधिसभा भन्ने गरिएको तर त्यसैलाई उत्तरतिर पिपल्स कंग्रेस भनिने बताउँदै उनले संसारमा धेरैथरीका सांसद हुने तर समग्रमा जनताद्वारा निर्वाचित प्रतिनिधिहरूको संस्था वा फेरमका रूपमा संसदलाई बुझ्नुपर्ने बताए।
‘जुन फोरमबाट देशको कानुन, देशको नीति निर्माण, देशको कार्यक्रम, देशको बजेट, देशको भविष्य निर्माण गर्ने काम हुन्छ, त्यो संसद हो,’ उनले भने, ‘जनताका आवाज, राष्ट्रका अवाज घन्काउने ठाउँ संसद हो।’ देशको आर्थिक, सामाजिक, राजनीतिक रूपान्तरणका लागि आवश्य थलो संसदलाई सम्मानतपूर्वक सुरक्षित रूपले सञ्चलन गर्न जान्नुपर्ने भए पनि त्यसो हुन नसकेको बताए।
संसदबाट के गरिन्छ भन्ने कुरा सबैले ठिक ढंगले बुझ्नुपर्ने आवश्यकता रहेको उनले बताए। लामो संघर्षबाट प्राप्त अहिलेको संविधानले राजतन्त्र, सामन्तवादलाई पराजित गरेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको उल्लेख गर्दै उनले अरु देशका संविधानमा निर्देशक सिद्धान्त नभए पनि नेपालको संविधानमा तिनलाईसमेटिएको बताए।
महिलालाई ३३ प्रतिशत स्थान दिने संविधान पनि नेपालको संसदले मात्र बनाएको दाबी उनले गरे। त्यसकारण नेपालको संसद संसारकै उत्कृष्ट रहेको उनले बताए। ‘हाम्रा कतिपय नेतामा अरु देशको लोकतन्त्र परिपक्व छ, हाम्रो देशमा मात्र भर्खर सुरु भएको भन्ने धारणा छ । त्यो गलत धारणा हो । परिपक्व भनिएका लोकतन्त्रमा महिलालाई १५ प्रतिशत पनि स्थान दिइएको छैन अनि कसरी परिपक्व?’ उनले भने।
अहिलेको संसदले लोकतन्त्रलाई अविच्छिन्न तरिकाले अगाडि लानुपर्ने, राष्ट्रियतालाई बचाउने कुरामा ध्यान दिनुपर्नेमा उनले जोड दिए। सिमान यही हो भनेर भन्न नसकिएको, एकपक्षीय ढंगले बाँध बाँधिँदा डुबानमा परी नेपाली जनताले दुःख पाइरहेको स्थितिमा राष्ट्रियतामाथि प्रश्न उठिरहेको उनले बताए। ती प्रश्नहरू उठाउने संसद र अर्कोतिर समस्या समाधान गर्न संसदबाट बनाइएको सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो।











