Kathmandu Press

‘झुन्डिएर मृत्यु भएको भनिए पनि आफैँ झुन्डिएको हो कि झुन्ड्याइएको हो भन्ने खुलिसकेको छैन’

‘जिन्दगीमा सधैँ संघर्ष गरेरै अगाडि बढिरहेको मान्छे हो ऊ । हिम्मत हारेर आत्महत्या गर्ने मान्छे होइन।’
‘झुन्डिएर मृत्यु भएको भनिए पनि आफैँ झुन्डिएको हो कि झुन्ड्याइएको हो भन्ने खुलिसकेको छैन’

काठमाडाैं, असार १६ : ‘घाँटीमा नीलो दाग थियो, शरीरको पछाडि भागमा नङले कोतरिएको धर्सा थियो, कसरी आफैँ झुन्डिएको भन्नू ?’ कमला सुनारले भनिन्,’ मेरी बहिनीको हत्या भएको हो।’

काठमाडौंको तारकेश्वर नगरपालिका– ११, नेपालटारस्थित कोठामा शनिबार मृत अवस्थामा भेटिएकी लोकगायिका दिलमाया सुनारको पोस्टमार्टम गरिएको छ। सोमबार त्रिवि शिक्षण अस्पताल (टिचिङ) को पोस्टमार्टम कक्षबाहिर दिलमायाकी जेठी दिदी कमला सुनार गहभरि आँसु पारेर बसिरहेकी थिइन्। उनीसँगै त्यहाँ उपस्थित उनका बुवा केशर विक, आफन्तहरु र लोकगायक–गायिकाका आँखा पनि ओभाना थिएनन्।

‘दुई दिनमा पोस्टमार्टम रिपोर्ट आएको छ। रिपोर्टमा झुन्डिएकै कारण मृत्यु भएको भनिएको छ,’ मृतकका बुवा केशर विक भन्छन्, ‘झुन्डिएकै कारण मृत्यु भए पनि आफैँ झुन्डिएको हो कि झुन्ड्याइएको हो भन्ने प्रस्ट खुलिसकेको छैन।’

Hardik ivf

पोस्टमार्टम भइसकेको र कानुनी रूपमा अनुसन्धान अगाडि बढाइने भएकाले उनी लगायत आफन्त त्यहाँ शव बुझ्न आएका थिए। अब कानुनी उपचारमा आफूहरु अघि बढ्ने केशरको भनाइ छ। ‘हामी शव नबुझ्ने पक्षमा थियौँ। शव जलाएर पनि अनुसन्धान अगाडि बढाउन सकिन्छ भन्ने धेरैको सल्लाह भयो। त्यसैले शव बुझेका हौँ,’ केशरले भने।

छोरी दिलमायाको हत्या भएको आशंकामा केशरले शनिबारै प्रहरीमा किटानी जाहेरी दिएका थिए। सिन्धुपाल्चोकका सूर्य भनिने खिलबहादुर श्रेष्ठलाई प्रहरीले आइतबारै पक्राउ गरिसकेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीका अनुसार, अभियुक्त श्रेष्ठ शुक्रबार साँझ ८ बजे मृतकको डेरामा पुगेको र बिहान ४ बजे फरार भएको देखिन्छ। ‘सेतो गुलाबी रङको बुट्टे सल आफूले महाराजगन्जस्थित कतार भिसा सेन्टरनजिक झाडीमा फालेको अभियुक्त श्रेष्ठले स्वीकार गरेका छन्,’ प्रवक्ता मैनाली भन्छन्, ‘काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि ५ दिन म्याद थप भएको छ, प्रहरी वृत्त बालाजुबाट अनुसन्धान भइरहेको छ।’

केही दिनमा घटनाको सत्यतथ्य बाहिर आउने उनको भनाइ छ।

‘हिम्मत हारेर आत्महत्या गर्ने मान्छे होइन ऊ’

१० दिनजति अघि दिलमाया आफूसँग फेसबुक म्यासेन्जरमार्फत भिडियो कलमा बोलेको कमला बताउँछिन्। ‘त्यतिबेला उसले व्यस्त छु। एक महिनापछि भेट्न आउँछु भनेकी थिई,’ कमला भन्छिन्, ‘खिलबहादुर र दिलमाया श्रीमान–श्रीमती भनेर डेरामा बसे पनि उनीहरूको प्रेम सम्बन्धका बारेमा नजिकका मित्रबाहेक अन्यलाई थाहा थिएन।’

उनले आफ्नी बहिनी आत्महत्या गर्ने जस्तो कमजोर मनकी नभएको पनि बताउँछिन्।

दिलमायाकी दिदी पर्ने ३५ वर्षीया शारदा सुनार पनि दुई साता अघिसम्म आफूले दिलमायासँग फोनमा कुरा गरिरहेको बताउँछिन्। ‘जिन्दगीमा सधैँ संघर्ष गरेरै अगाडि बढिरहेको मान्छे हो ऊ,’ शारदा भन्छिन्, ‘हिम्मत हारेर आत्महत्या गर्ने मान्छे होइन। उसको हत्या भएकै हो। शनिबार कोठामा हामी पुग्दा बहिनीको साथमा मोबाइल थिएन, कोठाको ढोका खुल्लै थियो। शुक्रबार आएको व्यक्ति (खिलबहादुर) बिहान भाग्नु, सल लुकाउन खोज्नुको अर्थ के हो ?’

घटना भएको थाहा पाएर दोहोरी साँझमा काम गर्ने लोकगायक प्रकाश केसी पनि शनिबार दिलमायाको कोठामा पुगेका थिए। ‘म पुग्दा अरु थुप्रै पुगिसकेका थिए। त्यतिबेला मैले मृतकको घाँटीमा नीलो दाग र शरीर खाटमा देखेको थिएँ,’ उनले भने, ‘अरूलाई हिम्मत दिने मान्छे हुन्, आत्महत्या गरिन होला जस्तो लाग्दैन।’

दिलमायाले शनिबार बिहान १ः२० बजे फेसबुकमा आफूले जिन्दगीसँग हार खाएको, दैनिक रोएर बाँच्न नसक्ने भन्दै पोस्ट गरेकी थिइन्। त्यो स्टाटसलाई बिहान ५ बजे आफूले देखेको र सम्पर्क गर्ने कोसिस गरेको दोहोरी साँझमा काम गर्ने कलाकार महेन्द्र तिवारी बताउँछन्। ‘दिलमाया दिदीले मलाई भाइ बनाउनुभएको थियो,’ तिवारी भन्छन्, ‘शनिबार बिहान धेरैपटक फोन गरेँ, तर लागेन। हामीले दोहोरी साँझमा कतिपटक सँगै काम पनि गरेका छौँ। दिलमाया दिदी एकदमै सरल स्वभावकी हुनुहुन्थ्यो। उहाँले धेरैजसो आफ्नो छोरालाई सम्झिनुहुन्थ्यो।’

को हुन् दिलमाया ?

केशर र देवीसराका पाँच बहिनी छोरीमध्ये माइली थिइन्, दिलमाया। दिदी कमलाका अनुसार, दिलमायाले १७÷१८ वर्षमा सुर्खेतमा विवाह गरेकी थिइन्। उनको १३ वर्षका छोरा समेत छन्। सात–आठ वर्षअघि सम्बन्धविच्छेद गरेकाले उनका छोरा बुवासँग बस्दै आएका छन्।

दिलमायाको माइतीको पुर्खौली थलो बाँकेको खजुरा गाउँपालिका भए पनि अहिले नेपालगन्ज बस्दै आएको छ।

‘बाल्यकालदेखि नै उसले लोकगीत गाउने गर्थी। बाल्यकालमा गाउँ–घरमा हुने उत्सव तथा कार्यक्रम र पारिवारिक जम्काभेट हुँदा पनि उसले गीत गाउँथी,’ कमलाले भनिन्, ‘बिस्तारै आफूलाई मनपर्ने पेसामा लागेर सफलता पाउन थाल्दै गर्दा यस्तो भयो।’

उनका अनुसार, दिलमायाले चर्चित कार्यक्रम ‘इन्देणी’ तथा ‘दपर्ण लाइभ दोहोरी’ मा लोकगीत गाएकी छन्। दुई दर्जनभन्दा बढी लोकगीतमा स्वर दिएकी छन्। ख्यातिप्राप्त लोकगायक राजु परियारसँग गीत गाएपछि दिलमायाको चर्चा बढेको कमला बताउँछिन्।

 

प्रकाशित मिति: १०:४१ बजे, बिहीबार, असार १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्