Kathmandu Press

किसानलाई समयमा मल उपलब्ध गराउन कांग्रेस नेता पौडेल आग्रह

किसानलाई समयमा मल उपलब्ध गराउन कांग्रेस नेता पौडेल आग्रह

काठमाडौं, असार  १५  : नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले किसानलाई समयमा मल उपलब्ध गराउन आग्रह गरेका छन् ।

बुधबार राष्ट्रिय धान दिवसको अवसरमा कृषिमन्त्री महेन्द्र राय यादवलाई भेट्न सिंहदरबार गएका नेता पौडेलले किसानलाई समयमा मल उपलब्ध गराउन आग्रह गरेका हुन् ।

‘आज धान दिवस भनेर सबैले शुभकामना व्यक्त गर्नुभयो। मौखिक शुभकामनाले किसानल राहत पाउने, मल पाउने सम्भावना हुँदैन। किसानको मुख्य समस्या भनेको मलको अभाव हो,’ मन्त्रीसँगको भेटपछि पौडेलले भने, ‘अहिले किसानले मल नपाएको स्थिति छ। यो कुरालाई तत्काल सम्बोधन गर्न आवश्यक छ। यिनै कुरामा सरकारको ध्यानाकर्षण गर्न मन्त्रीजीसँग छलफलका लागि आएको हुँ।’

उनले राज्यका नागरिकका लागि दुःख गरिरहेका किसानले सहजै मलखाद नपाउने कुरा स्वाभाविक नभएकोसमेत बताए। ‘राज्यका नागरिकका लागि किसानले दुःख गरिरहेको छ। किसानले गर्ने उत्पादन बढाउन राज्यका तर्फबाट सहुलियत दिने काम सरकारको हो,’ पौडेलले भने, ‘सरकारले आफ्नो उपस्थिति देखाउन पनि त्यो गर्नुपर्ने हुन्छ।

किसानले सहजै मल नपाउने कुरा स्वाभाविक होइन।’ उनले किसानलाई अगामी दिनमा यस्तो समस्या हुँदैन भन्ने प्रतिवद्धता सरकारबाट दिलाउन खोजेको पनि बताए। जवाफमा मन्त्री यादवले मल उपलब्ध गराउन नसक्नुका कारण बारे जानकारी दिएको पौडेलले बताए।

 छलफलका क्रममा मन्त्री यादवले असार मसान्तसम्म ७६ हजार मेट्रिक टन रासायनिक मल आउने जानकारी पनि दिएका छन्। यद्यपि आउन लागेको उक्त मल आवश्यक पर्ने मलको २० प्रतिशतमात्र भएको नेता पौडेलले बताए।

प्रकाशित मिति: १९:५१ बजे, बुधबार, असार १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्