उपत्यकामा हैजा संक्रमितको संख्या १४ पुग्याे
असार २ देखि आज (बुधबार) सम्म गरिएको परीक्षणमा त्यति व्यक्तिमा हैजाको संक्रमण पुष्टि भएको हो।
काठमाडौं, असार १५ : काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
असार २ देखि आज (बुधबार) सम्म गरिएको परीक्षणमा त्यति व्यक्तिमा हैजाको संक्रमण पुष्टि भएको हो।
मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्राले आज (बुधबार) नियमित प्रेस ब्रिफिङका क्रममा झाडापखालाका बिरामीहरुमा स्टुल कल्चर, आरडिटी र ह्यांगिङ ड्रप परीक्षण गर्दा १४ जनामा हैजा संक्रमण पुष्टि भएको जानकारी दिएकी हुन्।
उनका अनुसार हैजा पुष्टि भएका पहिलो व्यक्तिको घर र कार्यस्थलमा भण्डारण गरिएको जार, धारा र जमिनमुनिको पानी परीक्षण गर्दा कोलिफर्म भेटिएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ललितपुरमा गरेको पानीका १८ नमुना परीक्षण गर्दा १२ नमुनामा इकोलाई जीवाणु भेटिएको डा. मिश्राले जानकारी दिइन्।
हैजाबाट बच्न पानी उमालेर मात्र खान र ताजा खानेकुरा खान मन्त्रालयले आग्रह गरेको छ।











