Kathmandu Press

प्रदेश १ प्रदेशसभा बैठक : विभिन्न शीर्षकमाथिको छलफल समाप्त

विराटनगर, असार १५ : विनियोजन विधेयकमा निर्दिष्ट गरिएका शीर्षकमाथिको छलफल समाप्त भएको छ। प्रदेश १ प्रदेशसभाको आज बसेको बैठकमा स्वास्थ्य मन्त्रालय र सामाजिक विकास...
प्रदेश १ प्रदेशसभा बैठक : विभिन्न शीर्षकमाथिको छलफल समाप्त

विराटनगर, असार १५ : विनियोजन विधेयकमा निर्दिष्ट गरिएका शीर्षकमाथिको छलफल समाप्त भएको छ। प्रदेश १ प्रदेशसभाको आज बसेको बैठकमा स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल भएको थियो।

छलफलमा प्रदेशसभा सदस्य सञ्जाकुमारी दुनुवारले नागरिकको स्वास्थ्यका लागि स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेटको कार्यान्वयमा ध्यान दिनुपर्ने बताए।

सदस्य सावित्रकुमारी रेग्मीले सामाजिक क्षेत्र र स्वास्थ्य क्षेत्रमा विनियोजित बजेटलाई कार्यान्वयन गराउन निर्देशिका पनि आवश्यक रहेको बताए। सदस्य शान्ता पोखरेलले गर्भवतीदेखि ज्येष्ठ नागरिक ग्रामसम्म बजेट विनियोजन भएकामा खुसी व्यक्त गरे। 

सदस्य रामचन्द्र लिम्बूले पाँचथर, इलाम, धनकुटा, उदयपुर र मोरङको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरको स्तरोत्रतिका लागि सरकारले बजेट विनियोजन गरेकामा धन्यवाद दिए। सदस्य राधा थापाले बजेटमा महिला र युवालाई स्वरोजगार बनाउने सीपमूलक एवं व्यवसायमूलक तालिम दिने व्यवस्था हुनुपर्ने माग गरे।

सदस्य मोहनकुमार खड्काले खस जातीको उत्थान, पहिचान, संस्कृति रक्षा गर्न बजेट विनियोजन हुनुपर्ने माग गरे। सदस्य विमल कार्कीले बजेटमा सामाजिक र स्वास्थ्य क्षेत्रमा धेरै कार्यक्रम रहे पनि कार्यान्वयन पक्ष कमजोर रहेको टिप्पणी गरे।

सदस्य वसन्तीदेवी यादवले विराटनगर डुबानमा परेकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने भन्दै सरकारले गरिब जनताको उपचार कोष खडा गर्नुपर्ने बताए। सदस्य बलबहादुर साम्सोहाङले स्वास्थ्य बीमाका कारण अस्पतालहरुले पाउने रकम नपाएपछि बीमित बिरामीहरु मर्का परिरहेकाले यसतर्फ सरकारले आवश्यक कदम चाल्नुपर्नेमा ध्यानाकर्षण गराए। 

सदस्य मिलन राईले बजेट सीमित व्यक्ति एवं पहुँचवालाको हकमा राम्रो भए पनि आमनागरिकका लागि फलदायी नरहेको बताए। सदस्य नारायणबहादुर मगरले स्वास्थ्यविना कुनै पनि नागरिकले कुनै काम गर्न नसकिने भएकाले स्वास्थ्य क्षेत्रमा सरकारले गरेको लगानी उचित रहेकामा जोड दिए। 

सदस्य जीवन घिमिरेले सरकारले विगतका राम्रा योजनाहरु बजेटमा छुटाइएकाले समावेश गर्न माग गर्दै विद्यालय शिक्षाको गुणस्तर अभियान, प्रविधिमैत्री, पिउने पानीको व्यवस्था जस्ता कार्यक्रम सञ्चालन गर्न माग गरे। सदस्य उषाकला राईले बोल्ने, सुत्रे र उडाउने जस्तो सरकारको काम नहोस् भन्दै सरकारले गरिब जनताको उपचारका लागि गरिब उपचार कोष खडा गर्नुपर्ने माग गरे।

नियमापत्ति

प्रदेश सभासदस्य मोहनकुमार खड्काले बोल्ने क्रममा प्रयोग गरेको शब्दप्रति प्रदेशसभा सदस्य तुलसीप्रसाद न्यौपानेले नियमापत्ति जनाएका थिए। उनले सदस्य खड्काले बोलेका कुरा रेकर्डबाट हटाइयोस् भनी माग गरेपछि सभामुख सरस्वती पोखरेलले रेकर्ड हटाउने जनाएपछि पुनः सदन सञ्चालन भएको थियो।

शून्य समय

प्रदेशसभा सदस्य अम्बिका थापाले अविरल वर्षाका कारण उदयपुरका केही स्थानका नदीले कटान र डुबानको समस्या बनाएकाले सरकारको ध्यानाकर्षण गराए। सदस्य कुलप्रसाद सांवाले मोरङको बक्राहा र लोहन्द्रा नदीले डुबान तथा कटानको समस्या देखाएकाले यसतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। प्रदेशसभाको अर्को बैठक बिहीबार बिहान ११ः३० बजे बस्नेछ।

प्रकाशित मिति: १६:४६ बजे, बुधबार, असार १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्