प्रचण्डलाई घनश्याम भुसालको जवाफ : एमाले, माओवादी, समाजवादी कसैको बिउ उम्रदैन
कम्युनिस्ट नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले प्रचण्डलाई जवाफ दिँदै नेपाली कम्युनिस्ट आन्दोलनमा अब कसैको पनि बिउ नउम्रने बताएका हुन्।
काठमाडौं, असार १५ : नेकपा एमालेका नेता घनश्याम भुसालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अभिव्यक्तिको खण्डन गरेका छन्। कम्युनिस्ट नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले प्रचण्डलाई जवाफ दिँदै नेपाली कम्युनिस्ट आन्दोलनमा अब कसैको पनि बिउ नउम्रने बताएका हुन्।
उनले प्रचण्डले एउटा धारालाई उत्साहित गर्न त्यस्तो अभिव्यक्ति दिएको भए सम्मान गर्ने पनि बताए । भुसालले आफू पनि कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउने अभियानमा लाग्ने प्रविद्धता व्यक्त गरे। ‘कम्युनिस्ट आन्दोलनमा विभाजन, विवादको एउटा परम्परा छ । त्यो पछिल्लो दिनमा राजनीतिलाई धन्दा बनाउने र त्यो धन्दा बचाइराख्न गुटबन्दी गर्ने डरलाग्दो रोग व्यहोर्दै आएका छौं ,’ उनले भने।
भुसालले आजको आवश्यकतालाई प्रचण्डले पनि राम्ररी नबुझेको बताएका छन् । ‘माओवादीको बिउ, एमालेको बिउ, समाजवादीको बिउ, कमरेड फलानाको बिउ‘अब यी उम्रिदैनन्,’ उनले भने। अब यी सबै बिउलाई हाइब्रिड बनाउनुपर्ने भुसालको धारणा छ। ‘माओवादीको बिउ, एमालेको बिउ वा समाजवादीको बिउ अब चल्दैन । हामीले अस्ति नेकपा हाइब्रिड बनाएका थियौं । हाम्रो बुद्धि पुगेन र भकारीमै आगो लगायौं । बिउ सुरक्षित छन्, यसलाई फेरि हाइब्रिड बनाउनुपर्छ । जहाँ माओवादी, एमाले, समाजवादी केही रहने छैन, नेकपा रहने छ, कम्युनिस्ट पार्टी रहनेछ,’ उनले भने।











