मुकुन बन्ने भए ‘अन्तरे’
काठमाडाैं, कात्तिक २६ : चलचित्र ‘बुलबुल’मा चोपेन्द्रको भूमिकामा अभिनय गरेर चर्चा कमाएका अभिनेता मुकुन भुषालले नयाँ चलचित्र ‘अन्....

काठमाडाैं, कात्तिक २६ : चलचित्र ‘बुलबुल’मा चोपेन्द्रको भूमिकामा अभिनय गरेर चर्चा कमाएका अभिनेता मुकुन भुषालले नयाँ चलचित्र ‘अन्तरे’मा अभिनय गर्ने भएका छन्।
सत्यराज चौलागाईंले निर्देशन गर्ने यस चलचित्रमा उनले अन्तरे अर्थात प्रमुख भूमिकामा अभिनय गर्ने भएका हुन्। यसै साता उक्त चलचित्रमा आवद्ध भएको भुषालले बताए। उनले आफ्नो समय र टिम दुवै मिल्न आएको बताए।
‘चलचित्रको मुख्य पात्र अन्तरे हो र अन्तरेको भूमिका बलियो छ। बुलबुलबाट मैले पाएको माया दर्शकबाट नमरोस् भनेर मैले धेरै स्क्रिप्ट पढिरहेको थिएँ। त्यही बीचमा यो फिल्मको पनि पाएँ। मैले जे खोजेको थिएँ त्यही यसमा पाएँ’ मुकुनले भने, ‘मैले मेरो आफ्नो पात्र मात्र हेरिन, पुरै स्क्रिप्ट पढेँ। स्क्रिप्टमा जे लेखिएको छ पुरै चलचित्रमा देखाउन सकिने गरी लेखिएको छ। समग्रमा ‘अन्तरे’ नेपालमा चाहिएको जस्तै चलचित्र बन्नेछ।’
यो चलचित्र चरित्रात्मक भएकाले त्यहीँ किसिमको चरित्र निर्वाह गर्ने अन्य कलाकारहरु छनोटको काम भइरहेको निर्देशक चौलागाईँले बताए। रेड आइज फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा राज पण्डित र सुवास राईले लगानी गर्दैछन्। फागुनको पहिलो साता फ्लोरमा जाने तयारी गरिरहेको निर्माता राज पण्डितले बताए।












