एमालेमा माओवादीले रोपेको बिउ केही समयपछि फुल्छ, फल्छ : प्रचण्ड
‘तीन वर्षमा एमालेभित्रका पनि हजारौं नेता र कार्यकर्तालाई एकीकृत र केन्द्रीकृत गरेर लैजान सकिन्छ भन्ने अनुभव भयो, सकिँदो रहेनछ भन्ने होइन’
काठमाडौं, असार १५ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन वर्षको अवधिमा एमालेभित्र माओवादीले एकताको विउ रोपेर आएको बताएका छन् ।
बुधबार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका ओमप्रकाश पुन लगायतका नेतालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले एमालेभित्र ओली प्रवृत्तिका कारण एकीकृत भएर जान नसके पनि बिउ भने रोपेर आएको बताएका हुन्।
देशलाई रुपान्तरण गर्दै वैज्ञानिक समाजवादतर्फ डो¥याउनका लागि परिवर्तनकारी शक्तिहरु एकतावद्ध हुनुको विकल्प नरहेको प्रचण्डको भनाई थियो । त्यसका लागि पूर्वमाओवादी मात्र नभई सबै सच्चा कम्युनिस्टहरु एकीकृत र एकतावद्ध हुनुपर्नेमा जोड दिए।
‘सबै सच्चा कम्युनिस्टहरुलाई एकीकृत र केन्द्रीकृत गर्नुछ, जो माओवादीभन्दा बाहिर पनि छन्। बाहिरका सबै अवसरवादीमात्रै छन् भन्ने भ्रम पनि हामीले पाल्नु हुँदैन,’ उनले भने ।
प्रचण्डले एमालेमा ओली प्रवृत्तिको नेतृत्व नहुने हो भने अरु हजारौं कार्यकर्तालाई आरामसँग समाजवादको यात्रामा डोर्याउन सकिने विश्वास समेत प्रकट गरे। ‘मेरो तीन वर्षको अनुभव एमालेभित्रका पनि हजारौं कार्यकर्ता र नेताहरुलाई एकीकृत र केन्द्रीकृत गरेर लैजान सकिन्छ भन्ने अनुभव भयो, सकिँदो रहेनछ भन्ने अनुभव होइन,’ उनले भने ।
प्रचण्डले अगाडि भने, ‘तपाईँहरुलाई लाग्न सक्छ, सकिएन भन्ने लाग्न सक्छ । तर त्यहाँ बिउँ रोपिएको छ, हामी माओवादीले विउ रोपेर आएका छौं, हेर्नुहोला केही समयपछि त्यो फुल्छ, फल्छ। त्यो जिम्मेवारी पूरा गर्नुपर्नेछ।’
उनले सबै पूर्वमाओवादीहरु एकतावद्ध भएर उभिएमात्रै पनि ठूलो शक्ति बन्ने दाबी गरे । उनले त्यसको क्रम पनि सुरु भएको बताए । ‘केही दिनभित्रै धेरै वुद्धिजिवी साथीहरु आउनुहुन्छ। केही समयपछि संस्थागत नै ढंगले एकता हुन्छ। हामी जित्छौं, हामीले नै जित्नुपर्छ । खुद्रा पसल, नाङला पसल थापेर लडाईँ जितिदैन, होलसेल नै चाहिन्छ’ उनले भने।











