टी–ट्वान्टी क्रिकेटको उपाधि राधेमाईलाई
काठमाडाैं, असार १४ : अपन राधेमाई युथ क्लब, वीरगन्जले यु–१६ नेक्सस कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।बागमती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा...
काठमाडाैं, असार १४ : अपन राधेमाई युथ क्लब, वीरगन्जले यु–१६ नेक्सस कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
बागमती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भएको उक्त प्रतियोगिताको फाइनलमा राधेमाईले आयोजक नेक्सस क्रिकेट एकेडेमीलाई ३९ रनले पराजित गर्दै उपाधि जितेको हो। मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको राधेमाईले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ८२ रन बनायो। नेक्ससले ११.४ ओभरमा सबै विकेट गुमाएर मात्र ४३ रन बनाउन सक्यो।
राधेमाईका लागि सगिर मियाले २१ तथा सफ्वान अलीले १९ रन जोडे। बलिङतर्फ नेक्ससका हिमाल न्यौपाने र चन्दु यादवले २–२ विकेट लिए।
ब्याटिङतर्फ नेक्ससका सन्दीप विष्टले ३० रन बनाए। नेक्सससलाई सस्तैमा समेट्ने क्रममा राधेमाईका अनिश साह कानु एक्लैले ५ विकेट लिए। उपाधिसँगै राधेमाईले रु एक लाख पुरस्कार हात पार्यो भने उपविजेतामा सीमित नेक्ससले रु ७५ हजार प्राप्त गर्यो।
मोफसलको टोलीले उपाधि जितेको यो तेस्रो पटक हो। पहिलो संस्करणमा महेन्द्रनगरको सनराइज र दोस्रोमा वीरगञ्जको युनाइटेड क्लबले उपाधि जितेको थियो। प्रतियोगितामा राधेमाईका अनिश ‘म्यान अफ द सिरिज’ का साथै उत्कृष्ट बलर घोषित भए। नेक्ससका उत्तम थापामगर उत्कृष्ट ब्याट्र चुनिए। उदीयमान खेलाडीको उपाधि काठमाडौँ क्रिकेट टे«निङ सेन्टर (केसीटीसी) का कमल शाहीले जिते।
विजेतालाई काठमाडौँ जिल्ला क्रिकेट सङ्घका उपाध्यक्ष विजय शर्मा, नेक्ससका अध्यक्ष भरतकुमार शाहीलगायतले पुरस्कार प्रदान गरे। यही असार ६ गते सुरु भएको प्रतियोगितामा मोफसलका पाँचसहित १२ टोली सहभागी थिए।











