‘कुर्सीको दुरुपयोग गर्दिनँ, क्षमताले भ्याएसम्म इमानदार भएर काम गर्छु’
सोमबार शपथ ग्रहणलगत्तै सिंहदरबार पुगेर पदभार ग्रहण गरेका मन्त्री चौधरीले समय छोटो भएपनि धेरै काम गर्नुपर्ने भएकाले कामको गति सुस्त नहुने बताएका हुन्।
काठमाडौं, असार १३ : नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्रालयमा रहेर आफ्नो क्षमताले भ्याएसम्म इमानदार भएर काम गर्ने बताएका छन्।
सोमबार शपथ ग्रहणलगत्तै सिंहदरबार पुगेर पदभार ग्रहण गरेका मन्त्री चौधरीले समय छोटो भएपनि धेरै काम गर्नुपर्ने भएकाले कामको गति सुस्त नहुने बताएका हुन्। उनले स्पोर्ट्स बाइकको गतिमा काम गर्ने दाबी गरे ।
मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कुर्सीको दुरुपयोग नगर्ने पनि मन्त्री चौधरीले बताए। यसअघिका मन्त्रीले गरेका कामलाई निरन्तरता दिँदै बाँकी रहेका कामलाई समयमै सम्पन्न गर्ने मन्त्री चौधरीले प्रतिवद्धता व्यक्त गरे।
‘म यो कुर्सीको दुरुपयोग गर्दिनँ । हामी थोरै समयका लागि यो ठाउँमा आएका छौँ र धेरै गर्नुपर्नेछ’, उनले भने, ‘६ महिनाको अवधिमा आफ्नो स्पीडमा इमानदारिताका साथ सरकारको पोलिसीसँग नबाझिने गरी कार्यसम्पादन गर्छु ।’











