Kathmandu Press

नयाँ अध्ययन भन्छ– इ सिगरेटले मुटुमा गम्भीर असर गर्छ

भेपिङ उपकरण र त्यसका रसायन किशोर किशोरीमाझ लोकप्रिय छन्। तर यसले मुटु तथा श्वासप्रश्वास प्रणालीमा क्षति पुर्‍याउन सक्ने एउटा अध्ययनले देखाएको छ। इ सिगरेटसम्बन्धी स....

नयाँ अध्ययन भन्छ– इ सिगरेटले मुटुमा गम्भीर असर गर्छ

भेपिङ उपकरण र त्यसका रसायन किशोर किशोरीमाझ लोकप्रिय छन्। तर यसले मुटु तथा श्वासप्रश्वास प्रणालीमा क्षति पुर्‍याउन सक्ने एउटा अध्ययनले देखाएको छ। इ सिगरेटसम्बन्धी समस्या र मृत्युबारे चासो र चिन्ता उत्तिकै बढ्दै गएको छ।

युएस सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले गएको महिना भेपिङले फोक्सोको चोटपटक बढाएको घोषणा गरेपछि कार्डियोभास्कुलर रिसर्च नामक जर्नलमा प्रकाशित पछिल्लो अध्ययनले यस्तो नतिजा निकालेको हो।

“इ सिगरेटमा अहानिकारक पानीको वाफ मात्रै नभएर निकोटिन, पार्टिकुलेट म्याटर, धातु र फ्लेभर हुन्छ,” ओहायो स्टेट युनिभर्सिटीका लोरेन वोल्डले लेखेका छन्।

Hardik ivf

“वायु प्रदुषणसम्बन्धी अध्ययनहरूले सञ्चार प्रणालीमा मसिना कणहरू प्रवेश गर्ने र मुटुमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ। इ सिगरेटसम्बन्धी तथ्याङ्कले यस्तै देखाउँछ।”
सुर्तिमा समेत पाइने निकोटिनले रक्तचाप र मुटुको धड्कन बढाउने देखिएको छ। तर भेपिङबाट तानिने अन्य पदार्थले जलन, अक्सिडेटिभ तनाव र रक्तसञ्चार अस्थीर हुने वोल्ड बताउँछन्। सूक्ष्म कणहरूले थ्रोम्बोसिस, मुटुरोग र उच्चरक्तचाप हुने देखिएको छ। इ सिगरेटमा फोर्मलडिहाइड पनि हुन्छ। यसलाई क्यान्सरको कारण मानिन्छ। मुसामा गरिएको परीक्षणमा यसले मुटुमा हानि पुर्‍याउने पनि देखिएको छ।

यसबाहेक, विभिन्न स्वादका “फ्लेभर”ले स्वास्थ्यमा पार्ने सम्भावित हानिबारे खासै जानकारी छैन। यस्ता फ्लेभर फलफुल वा पुदिनाको स्वादमा उपलब्ध छन्।

“मुखबाट खाए अधिकांशलाई सुरक्षित मानिए पनि धुँवाबाट सेवन गर्दा हुने प्रणालीगत प्रभावबारे कमै मात्र जानकारी उपलब्ध छ,” अनुसन्धाताहरूले लेखेका छन्।
मुटु र श्वासप्रश्वास प्रणालीमा हुने हानिको मुल्याङ्कन गर्न वोल्ड र उनक सहकर्मीहरूले “मेडिकल लिटरेचर”को प्रणालीगत समीक्षा गरेका छन्। तर इ सिगरेटको प्रयोग नयाँ भएकाले कमै जानकारी उपलब्ध छ।

अधिकांश अध्ययनहरू इ सिगरेटको दीर्घकालीन प्रयोगको जोखिमभन्दा गम्भीर प्रभावमा केन्द्रित भएको वोल्डले टिप्पणी गरेका छन्। त्यसैगरि भेपिङको “सेकेन्डह्यान्ड” प्रभाव तथा भित्ता, पर्दा र कपडामा भएका कणहरूले स्वास्थ्यमा पार्ने प्रभावबारे कमै जानकारी उपलब्ध छ।

सिडिसिले जनाए अनुसार अक्टोबर २९ सम्म अमेरिकाको २४ राज्यमा भएका ३७ ओटा मृत्युका घटना इ सिगरेट र भेपिङ उत्पादनसँग जोडिएका छन्। देशभरि झण्डै १९ सय घटनाहरू फोक्सोको समस्यासँग जोडिएका छन्। अधिकांश घटनामा, प्रभावित व्यक्तिहरूले गाँजामा पाइने “साइकोएक्टिभ” पदार्थ टिएचसि भएका उत्पादन सेवन गर्न पनि उपकरणहरू प्रयोग गर्ने गरेको देखिएको छ। यसले अज्ञात अशुद्धताको सम्भावना पनि बढेको छ।

धुमपान नगर्नेहरूलाई इ सिगरेट प्रयोग गर्न सिडिसिले निरूत्साहित गरेको छ। सुर्तिजन्य पदार्थको बानी हटाउनलाई युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन ९एफडिए०ले अनुमोदन गरेको प्याच र गमजस्ता विकल्प प्रयोग गर्न पनि सुझाव दिएको छ।

तर एक दशकअघि अमेरीका र युरोपका बजारमा भेपिङका उपकरण भित्रिएपछि यसको प्रयोग आकाशिएको छ। विश्व स्वास्थ्य संगठनले जनाए अनुसार सन् २०११ मा विश्वभर ७० लाखले भेपिङ गर्थे भने सन् २०१८ सम्म भेपिङ प्रयोगकर्ता चार करोड १० लाख पुगेका छन्।

भेपिङ विशेष गरि युवा प्रयोगकर्तामाझ लोकप्रिय छ। भेपिङ उपकरणको डिजाइनले उनीहरू आकर्षित भएको आलोचकहरूले बताएका छन्।

अमेरिकामा हाइ स्कूल अध्ययनरत चारमध्ये एक जना विद्यार्थीले इ सिगरेट प्रयोग गर्छन्। सन् २०१९ को नेसनल युथ टोबाको स्टडी अनुसार दुई वर्षअघिको तुलनामा यो १५ प्रतिशतभन्दा बढि हो। किशोरावस्थाअघि नै भेपिङ गर्नेहरूको संख्या सन् २०१८ को तुलनामा २०१९ मा दोब्बर बढ्यो। मिडल स्कूलका १० प्रतिशत विद्यार्थीले भेपिङ गर्ने गरेका छन्।

“भेपिङले स्वास्थ्यमा पार्ने प्रभाव अज्ञात भएको र जोखिम पनि अत्यधिक रहेको वयस्कहरूले बुझ्न थालेका छन्,” वोल्डले भने। “किशोरकिशोरीमा यस्तो नहुनु नै मेरो डर हो।”
 

प्रकाशित मिति: ०७:०७ बजे, मंगलबार, कात्तिक २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्