‘पत्तै नपाई ९ महिना बित्यो, ९० प्रतिशत सफल भएँ’
उनले जनताको हितमा काम गर्दा अदृश्य शक्तिकेन्द्रबाट दबाब र प्रलोभन आएको पनि खुलासा गरेका छन् । तर त्यस्ता दबाब र आर्थिक प्रलोभनमा नपरेको पनि दाबी गरे।
काठमाडौं, असार १२ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले थाहै नपाई ९ महिना बितेको बताएका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रि आलेले जनताको काममा व्यस्त रहँदा ९ महिना बितेको पनि थाहा नपाएको बताएका हुन्।
उनले यस अवधिमा थुप्रै राम्रा काम भएको पनि दाबी गरेका छन्। आफू प्रक्रियामा भन्दा एक्सनमा विश्वास गर्ने राजनीतिक कार्यकर्ता रहेको बताउँदै मन्त्रि आलेले काम गरिसिकेपछि परिणाम चाँडै आउनुपर्नेमा आफूले जोड दिएको बताए । उनले ९ महिनाको अवधिमा आफू ९० प्रतिशत सफल भएको पनि दाबी गरेका छन्।
मन्त्री आलेले आफूले जिम्मेवारी पाएपछि कागजमा मात्रै काम गरेको देखाउन खोज्नेहरु आफ्नो निगरानीमा परेको बताए । ‘पिँधमा भन्दा टाकुरामा बसेकालाई निगरानी गरेँ, छलछाल गर्नेलाई कारवाही गरेँ,’ उनले भने।
उनले जनताको हितमा काम गर्दा अदृश्य शक्तिकेन्द्रबाट दबाब र प्रलोभन आएको पनि खुलासा गरेका छन् । तर त्यस्ता दबाब र आर्थिक प्रलोभनमा नपरेको पनि उनको भनाई छ ।
‘नेपाल वायुसेवा निगम, नेपाल पर्यटन बोर्ड, नारायणहिटी दरबार संग्रहालय, पशुपति धर्मशाला, क्यासिनको बक्यौता असुलउपर, लगायतका क्षेत्रमा सुधारका काम गर्दा अदृश्य शक्तिकेन्द्रबाट दर्जनौंपटक दबाब र थुप्रै प्रलोभन नआएका होइनन्,’ उनले भने, ‘दबाब र आर्थिक प्रलोभनमा नपरि मुलुक संविधान, नीति तथा कार्यक्रम, नीति कार्यक्रम, सरकारको प्राथमिकता, प्रधानमन्त्रीको निर्देशन, अध्यक्ष माधव नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायताका व्यक्तिहरुको मार्गदर्शनका आधारमा क्रियाशिल भइरहेँ।’
उनले आफूले मन्त्रालय छाड्दै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएका सुधारका काम र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल) सम्झनामा रहिरहने बताए।











