मन्त्री पदबाट राजीनामा दिने तयारीमा झाँक्री, आजै पत्रकार सम्मेलन गर्दै
काठमाडौं, असार १२ : नेकपा एकीकृत समाजवादीबाट सरकारमा रहेकी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिने तयारी गरेकी छन्।केहीबेरमा पत्रकार सम्मेलन गरेर उनले...
काठमाडौं, असार १२ : नेकपा एकीकृत समाजवादीबाट सरकारमा रहेकी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिने तयारी गरेकी छन्।
केहीबेरमा पत्रकार सम्मेलन गरेर उनले राजीनामाबारे जानकारी दिन लागेको बताइएको छ।
पार्टीले जेठ २२ गते पुराना मन्त्रीलाई फर्काएर नयाँलाई पठाउने निर्णय गरे पनि उनीलगायत अन्य मन्त्रीले संसदमा बजेटबारे मन्त्रालयगत छलफल चलिरहेकाले राजीनामा नदिने बताएका थिए।
संसदमा विनियोजन विधेयकबारे आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिइसकेकाले मन्त्री झाँक्रीले राजीनामाको घोषणा गर्न लागेको बताइएको छ।
आजै पर्यटनमन्त्री प्रेम आलेले अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाइसकेका छन्। मन्त्री हेरफेरको निर्णय कार्यान्वयन नहुँदा नेकपा एसमा उत्पन्न विवाद पेचिलो बन्दै गएपछि मन्त्री आलेले शुक्रबारको पोलिटब्युरो बैठकमा ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए।
केही दिनअघि आले, झाँक्रीसहित १० जना सांसदले सदनमा बजेटबारे छलफ भइरहेका बेला मन्त्रिपरिषदमा हेरफेर गर्ने निर्णय सही र स्वाभाविक नभएको भन्दै पार्टीमा ध्यानाकर्षण पत्र बुझाएका थिए। उनीहरू संसदीय दलको बैठक राख्न पनि पार्टीसँग माग गरेका थिए।
उक्त पत्रबाट मन्त्री आलेसहित ६ सांसदले नाम फिर्ता लिए पनि मन्त्री झाँक्रीले भने लिएकी छैनन्। अन्य दुई मन्त्री विरोध खतिवडा र कृष्णकुमार श्रेष्ठले पनि हस्ताक्षर फिर्ता लिएका छैनन्।











