Kathmandu Press

गौरवका साथ भन्न सक्छु, मन्त्री हुँदा राम्रो काम गरेको छु : आले 

गौरवका साथ भन्न सक्छु, मन्त्री हुँदा राम्रो काम गरेको छु : आले 

काठमाडौं, असार १२ :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफ्नो कार्यकालमा राम्रो काम भएको दाबी गरेका छन् । संसदबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री आलेले आफूले अध्यक्षलाई राजीनामा पत्र बुझाइसकेको पनि प्रष्ट पारे। 

मन्त्री ओलेले आफूले पोलिटब्यूरो बैठकमा घोषणा गरेअनुरुप नै अध्यक्षसमक्ष राजीनामा बुझाएको बताए । ‘४८ घन्टाभित्र  राजीनामा दिन्छु भनेर घोषणा गरेको थिएँ, १५ मिनेट अगाडि नै बुझाएको छु,’ मन्त्री आलेले भने, ‘अब अध्यक्ष ज्यूले निर्णय गर्नुहुन्छ।’

मन्त्री आलेले संसदमा बजेटमाथिको छलफल चलिरहेका कारण पनि राजीनामा चाँडै नदिएको बताए । ‘प्रतिनिधि सभा र राष्ट्रिय सभामा जवाफ दिइसकेँ, अब मेरो दायित्व सकियो,’ उनले भने,‘ गौरवका साथ भन्न सक्छु, राम्रो काम गरेको छु।’

उनले पार्टीका अन्य मन्त्रिहरुले राजीनामा दिने नदिनेबारे आफूलाई थाहा नभएको बताए । ‘पार्टीले नै सांसद र मन्त्री बनाउने हो, पार्टीको निर्णय र निर्देशन मान्नुपर्छ,’ उनले भने, ‘मैले त अध्यक्ष ज्यूलाई धन्यवाद समेत दिइसकेको छु।’


  
 

प्रकाशित मिति: १६:३८ बजे, आइतबार, असार १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्