पाठ्यपुस्तक अभावकाे समस्या तत्काल समाधान गरियाेस् : याेगेश भट्टराई
काठमाडाैं, असार १२ : एमाले सांसद योगेश भट्टराईले देशभरि माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुले भाेगिरहेकाे पाठ्यपुस्तक अभावकाे समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका...
काठमाडाैं, असार १२ : एमाले सांसद योगेश भट्टराईले देशभरि माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुले भाेगिरहेकाे पाठ्यपुस्तक अभावकाे समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
आज (आइतबार) को प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले शैक्षिक सत्र सुरु भएको १ महिना १३ दिन बितिसक्दा पनि माध्यमिक तहमा अध्ययनरत करिब ८० लाख विद्यार्थीमध्ये करिब ७५ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत रहेको र अधिकांशले हातमा पाठ्यपुस्तक नरहेको जानकारी गराए।
‘पाठ्यपुस्तक छपाइ तथा वितरणको काम जनक शिक्षा सामग्रीलाई दिइए पनि यसपालि कक्षा १ देखि ३ सम्मको जिम्मेवारी निजी क्षेत्रले समेत जिम्मा पाएका छन्,’ उनले भने, ‘३ सम्मका किताब अधिकांश ठाउँमा पुगेका छन् तर ४ कक्षादेखि माथिका पाठ्पुस्तक अधिकांश स्थानमा पुगेका छैनन्।’
उनले आफ्नो, प्रधामन्त्री शेरबहादुर देउवा, शिक्षामन्त्री देवेन्द्र पौडेलको निर्वाचन क्षेत्रका मात्र नभएर काठमाडौंको दरबार हाइस्कुलसमेत गरी आधादर्जन जति विद्यालयमा सर्वेक्षण गर्दा अझै ५० प्रतिशत विद्यार्थीको हातमा पाठ्पुस्तक नपरेको उनको भनाइ थियो।
वाग्मती प्रदेशका १३ जिल्लाको पनि आफूले रिपोर्ट तयार पारेको उल्लेख गर्दै उनले नेपाली विषयको पाठ्पुस्तकको उदाहरण दिँदै विद्यार्थीको हातमा पुस्तक नपुगेको अवस्थाबारे सदनलाई जानकारी गराए। ‘वाग्मतीमा ५८ हजार ८७५ वटा पाठ्पुस्तक आवश्यक पर्नेमा अहिलेसम्म ३४ हजार ४५० वटा मात्र विद्यार्थीको हातमा पुगेको र बाँकी २४ हजार ४२५ पाठ्पुस्तक अभाव छ।’ ढुवानीको सबैभन्दा सहज मानिएको वाग्मतीमा ३५–४० प्रतिशत पाठ्पुस्तक पुग्न बाँकी रहँदा कर्णालीको अवस्था के होला भनी उनले प्रश्न गरे।
पाठ्यपुस्तकको अभाव हुँदा विद्यालयमा पढाइ हुन नसकेको, विद्यार्थीहरू कक्षाकोठामा नबसेकोलगायत समस्या सिर्जना भएको उनले बताए।
हालसालै बैंककमा भएको कोरोनाका कारण दुई वर्षमा शैक्षि क्षेत्रमा परेको प्रभावबारे एसिया प्यासिफिक क्षेत्रका शिक्षामन्त्रीहरूको छलफल हुँदा ‘लर्निङ लस’ भइरहेको निष्कर्ष निकाले पनि नेपालमा अहिले पनि पाठ्यपुस्तक अभावले ‘लर्निङ लस’ भइरहेको उनले बताए। सो बैठकमा नेपालको शिक्षामन्त्रीसमेत सहभागी भएको उनले जानकारी दिए।
शिक्षामन्त्रीले संसद बैठकमा १५ दिनभित्र पाठ्यपुस्तकको समस्या समाधान हुने भनेर बोले पनि व्यावहारमा नदेखिएको उनको भनाइ थियो। नजिकै आइरहेको त्रैमासिक परीक्षामा विद्यार्थी के पढेर सहभागी हुने भन्ने अन्योल रहेकाले पाठ्यपुस्तक अभावको समस्या तत्काल समाधान गर्न उनले सरकारको ध्यानाकर्षण गराए।











