ललितपुर महानगरपालिका क्षेत्रभित्र चटपटे र पानीपुरी बेच्न रोक

काठमाडौं, असार १२ : ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र चटपटे र पानीपुरी बेच्न रोक लगाइएको छ । चटपटे र पानीपुरीमा प्रयोग गरिने पानीमा हैजाको जिवाणु हुनसक्न खतरा बढेपछि महानगरले चटपटे र पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेको हो।
‘ललितपुरमा हैजा देखिएको त छैन, तर उच्च जोखिम भएकाले पानीपुरी र चटपटे बेच्न रोक लगाउने निर्णय भएको छ,’ मेयर चिरिबाबु महर्जनका स्वकीय सचिव इन्द्र बज्राचार्यले काठमाडौंं प्रेससँग भने। उनका अनुसार महानगरले निर्णय गरेसँगै नगरप्रहरीले चोकचोकमा माइकिङ गर्दै चटपटे र पानीपुरी बेच्न रोक लगाइएको जानकारी गराइरहेको छ।
बज्राचार्यका अनुसार एकदुई दिनभित्रै चटपटे र पानीपुरी बेच्न पूर्ण रुपमा रोक लगाइने छ । ‘अहिले सूचना दिएर सचेत गराइरहेका छों, एकदुई दिनमा पूर्ण रुपमा कार्यान्वयन हुनेछ,’ उनले भने ।
जबरजस्ती पानीपुरी र चटपटे बेचेको पाइए कारवाही गर्ने पनि महानगरले जनाएको छ । त्यसका लागि प्रहरीसँग पनि समन्वय भइरहेको मेयरको सचिवालयले जानकारी दिएको छ।











