आयल निगमले सार्वजनिक गर्यो इन्धनको नयाँ मूल्यसूची (सूचनासहित)
सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको कर कटौती गरेपछि निगमले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।
काठमाडौं, असार ११ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ।
आज (शनिबार) राति १२ बजेबाट लागु हुने गरी निगमले जारी गरेको नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७९ र डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ९२ कायम गरिएको छ।
सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको कर कटौती गरेपछि निगमले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।
यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारको धारणा सार्वजनिक गर्न आकस्मिक पत्रकार सम्मेलन गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेका थिए। उनले पेट्रोलमा २० रुपैयाँ र डिजेल र मट्टीतेलमा २९ रुपैयाँ घटाइएको जानकारी दिएका थिए।
मन्त्री बडूले सो घोषणा गर्नुअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्षस्थ नेताहरुको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न निर्देशन दिएको थियो।
केही समयअघि आयल निगमले पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेपछि सरकारको चौतर्फी वरिोध हुँदै आएको थियो। मूल्यवृद्धि फिर्ताको माग गर्दै सडक आन्दोलन पनि गर्न थालिएको थियो।












