लोकतन्त्रको रक्षाका पक्षमा छौं : अध्यक्ष नेपाल
काठमाडाैं, असार ११ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रको रक्षाका लागि आफूहरुले तत्कालीन अवस्थामा नेकपा एमालेबाट गरेको विद्रोह देश र जनताको...
काठमाडाैं, असार ११ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रको रक्षाका लागि आफूहरुले तत्कालीन अवस्थामा नेकपा एमालेबाट गरेको विद्रोह देश र जनताको पक्षमा रहेको प्रमाणित भएको बताएका छन्।
एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा उनले कम्युनिष्ट पार्टीभित्र अधिनायकवाद र व्यक्तिवाद हाबी भएकाले राजनीतिक प्रणालीको रक्षाका लागि आफूहरुले गरेको विद्रोह जायज भएको बताए।
कम्युनिष्ट पार्टीले देशभक्ति र लोकतन्त्रको पक्षमा जनतालाई सङ्गठित गर्ने हुँदा राष्ट्रियताको संरक्षणमा विदेशी शक्तिका सामू नझुकेकै कारण् देशमा कम्युनिष्ट पार्टी जनताको प्रिय बनेको बताउँदै अध्यक्ष नेपालले देशभक्ति, लोकतन्त्र र जनजीविकाका सवाललाई केन्द्रमा राखेर पार्टी निर्माणमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए। लोकतन्त्रको मूल्यमान्यता स्विकार्न हामीलाई जनताको बहुदलीय जनवादले नै निर्देश गरेको उनको भनाइ छ ।
पाँचदलीय गठबन्धनबाट स्थानीय तहको निर्वाचनमा सिट बाँडफाँट कार्य न्यायोचित रुपमा हुन नसकेकाले नेकपा९एस०लाई उचित स्थान नदिइए पनि एक महानगर, एक उपमहानगरसहित केही स्थानमा विजयी भएकाले अब बलियो सङ्गठन निर्माण गरी अगाडि बढनुपर्नेमा उनले जोड दिए।
अध्यक्ष नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ठोस योजनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै अहिलेको मूल्यवृद्धिले जनतालाई समस्या भएकाले राज्यले कम मुनाफा लिएर भए पनि जनतालाई राहत दिनुपर्ने बताए। जारी बैठकमा अध्यक्ष नेपालले ३४ पानाको प्रतिवेदन पेस गरेका छन्।











